तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा ४८ प्रतिशत मतदान सम्पन्न

रौतहट। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहटमा आज २ दिउँसोसम्म ४८ प्रतिशत मतदान भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार दिउँसो २ बजेसम्म करिब दुई लाख नौ हजारभन्दा बढी मतदाताले मतदान गरिसकेका छन् ।

जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा उत्साहजनक रूपमा मतदान भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभर मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा जारी छ ।

रौतहटमा कुल ४ लाख ३६ हजार ६११ मतदाता रहेका छन् । मतदानका लागि जिल्लाभर २७७ मतदानस्थलमा ५४१ मतदान केन्द्र कायम गरिएको छ ।

जिल्लाका २७७ मतदानस्थलमध्ये १५२ स्थानलाई अतिसंवेदनशील र १०० स्थानलाई संवेदनशील मतदानस्थलका रूपमा वर्गीकरण गरिएको छ भने बाँकीलाई सामान्य सूचीमा राखिएको छ ।

अतिसंवेदनशील र संवेदनशील मतदान केन्द्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ । निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकाय परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लाभर हालसम्म कुनै अप्रिय घटना नभई उत्साहका साथ मतदान प्रक्रिया जारी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button