तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

रुपन्देही । रुपन्देहीमा बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । 

पाँच निर्वाचन क्षेत्र रहेको जिल्लामा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका कार्यालयहरूले मतदान स्थल, मतदान केन्द्र र मतगणना स्थलमा आवश्यक व्यवस्थापन सबै तयारी गरेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख कल्पना अर्यालले बताउनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, भैरहवाका अनुसार मतदानका लागि आवश्यक मतपत्रसहित करिब पाँच दर्जनभन्दा बढी सामग्री मतदान अधिकृतहरूलाई बुझाई, रुजु गरी सम्बन्धित केन्द्रतर्फ पुराएर मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी तथा सुरक्षाकर्मीहरूले आफ्नो जिम्मेवारी लिइसकेको उहाँले जानकारी दिनुभयो।

रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले सबै मतदान स्थलमा आवश्यक सामग्री पुगिसकेको र सुरक्षा निकायको समन्वयमा सुरक्षाको प्रबन्ध गरिएको जानकारी दिनुभयो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मतदान स्थलमा कर्मचारी तथा सुरक्षाकर्मीहरूले सबै तयारी पूरा गरेको बस्नेतले बताउनुभयो ।

७ सय ३६ जना मतदान अधिकृत तथा सोही सङ्ख्यामा सहायक मतदान अधिकृत खटिनुभएको छ । त्यस्तै, मतदान स्थल तथा केन्द्रहरूमा गरी ४ हजार ४ सय ४ जना कर्मचारी परिचालन गरिएको छ भने २ हजार २ सय ३ जना स्वयंसेवक कर्मचारी पनि खटाइएको छ । 

जिल्लामा २ सय १३ मतदान स्थलमा ७ सय ३६ मतदान केन्द्र कायम गरिएको छ । पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button