तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा ७ सयभन्दा बढी सेना परिचालन, आठै पालिकामा ‘इलेक्शन बेस’

बाँके । भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाँकेमा सुरक्षा व्यवस्थालाई अत्यन्तै कडा पारिएको छ। भारतसँग खुला सिमाना जोडिएको डुडुवा, नरैनापुर र जानकी गाउँपालिकाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाले अन्य सुरक्षा निकायसँग समन्वय गरी आक्रामक रणनीति अपनाएको हो ।

नेपाली सेनाले जिल्लाका आठ वटै स्थानीय तहमा निर्वाचन सुरक्षा बेस खडा गरेको जनाएको छ। सेनाका बज्र दलका प्रमुख सेनानी रामचन्द्र श्रेष्ठका अनुसार गत माघ २१ गतेदेखि नै नरैनापुर–५ खोदवामा रहेको अस्पताल, डुडुवा गाउँपालिकाको कार्यालय, जानकी गाउँपालिकाको कार्यालय, खजुरा, राप्ती सोनारी, बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका तथा नेपालगञ्ज उपमहानगरपालिकामा सुरक्षा बेस स्थापना गरिएको छ।

प्रमुख सेनानी श्रेष्ठको कमाण्डमा बज्र दलअन्तर्गतका अधिकृतस्तरका सैनिक नेतृत्वमा ती बेस सञ्चालनमा रहेका छन् । हाल जिल्लाको सुरक्षाका लागि ७०० भन्दा बढी सैनिक फौज परिचालन गरिएको सेनाले जनाएको छ।

हेलिप्याडदेखि बख्तरबन्ध गाडीसम्म
सेनाले प्रत्येक पालिकामा आफ्नै हेलिप्याड निर्माण गरेको छ। बुधबार मात्रै आठ वटै पालिकामा बख्तरबन्ध गाडीसहित विशेष फोर्सले ‘पेट्रोलिङ’ सम्पन्न गरेको छ। जमिनमा सुरक्षाका लागि बख्तरबन्ध गाडीसहित विशेष फौज परिचालन गरिएको छ भने विगत एक महिनादेखि भेइकल पेट्रोलिङ, डे–नाइट पेट्रोलिङ र फ्ल्याग मार्च सञ्चालन गर्दै आएको छ।

सुरक्षा बेसहरूमा बम डिस्पोजल टोलीलाई ‘हाई अलर्ट’मा राखिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै गाउँबस्तीमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी स्थानीयलाई सम्पर्क नम्बरसमेत उपलब्ध गराइएको छ। बेवारिसे विस्फोटक पदार्थ भेटिएमा सुरक्षित रहने उपाय र सुरक्षा निकायलाई खबर गर्ने तरिकाबारे पनि सचेतना दिइएको सेनाले जनाएको छ ।

‘तेस्रो घेरा’मा सेना, मतपेटिका ढुवानीमा स्कर्टिङ
सेनाले निर्वाचनमा प्रत्यक्ष हस्तक्षेप नगर्ने तर सुरक्षामा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ। मतदानका बेला सेना तेस्रो सुरक्षा घेरामा रहनेछ र मतदान केन्द्रभित्र प्रवेश गर्ने छैन। मतपेटिका ढुवानीका क्रममा सेनाले नछोईकन केवल ‘स्कर्टिङ’ र ‘पिकेटिङ’ मार्फत सुरक्षा दिनेछ।

जिल्लाका तीनै निर्वाचन क्षेत्रका मतगणना स्थलबाट अन्तिम नतिजा घोषणा नभएसम्म चौबीसै घण्टा पहरा दिने तयारी गरिएको छ।

‘पर्ख र हेर होइन, आवश्यक परे तत्काल एक्सन’
रेडियो नेपालसँग कुरा गर्दै प्रमुख सेनानी श्रेष्ठले निर्वाचन बिथोल्न खोज्ने वा हस्तक्षेप गर्न प्रयास गर्ने जो–कोहीलाई सुरक्षा कार्यविधिअनुसार कडा कारबाही गरिने चेतावनी दिएका छन् । सेना ‘पर्ख र हेर’को अवस्थामा नरही आवश्यक परे तत्काल ‘एक्सन’मा जाने आदेश लिइसकेको उहाँले बताउनुभयो ।

मतदानको पूर्वसन्ध्यामा जिल्ला सुरक्षा समिति तथा उच्च पदस्थ सैनिक अधिकारीहरूले सुरक्षा बेसको स्थलगत निरीक्षण गरी तयारीको अवस्था बुझ्दै सुरक्षाकर्मीको मनोबल उच्च बनाएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button