तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा मतदानको तयारी पूरा

बैतडी । बिहीबार हुने मतदानको बैतडीमा तयारी पूरा भएको छ ।

जिल्लाका एक अस्थायीसहित २ सय १५ वटै मतदान केन्द्रमा मतदानको तयारी पूरा भएको जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो।  

बिहीबार बिहान ७ः०० बजेदेखि सञ्चालन हुने मतदानका कार्यका लागि जिल्लाभरि आवश्यक सबै तयारी पूरा भएको उहाँले जानकारी दिनुभयो । 

मतदान केन्द्रमा मतदाताहरूको सहजताका लागि लाइनको व्यवस्थापन गर्ने, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकहरूको सहजताका लागि आवश्यक सबै तयारी पूरा भएको उहाँले बताउनुभयो। 

प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षाको भरपर्दो व्यवस्था गरिएकाले निर्धक्क भएर आफ्नो मताधिकारको प्रयोग गर्न आग्रह गर्नुभयो । 

निर्वाचन सुरक्षाका लागि जिल्लाभरि २ हजार ७ सय बढी सुरक्षाकर्मी खटाइएका उहाँले बताउनुभयो।

बैतडीमा प्रतिनिधिसभा सदस्यका लागि १ निर्वाचन क्षेत्र रहेको छ । यहाँ ११ जना उम्मेदवारले मनोनयन दर्ता गरेको भए पनि यहाँ १० जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । 

बैतडीमा १ लाख ५६ हजार ३७२ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा २ हजार ७० अस्थायी मतदाता रहेका छन् । अस्थायी मतदाताहरूका लागि सदरमुकाम गढीस्थित दशरथचन्द आधारभूत विद्यालयमा केन्द्र राखिएको जिल्ला निर्वाचन अधिकारी भारतीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button