शान्तिपूर्ण मतदानको तयारी पूरा, बाँकेका ३ लाखभन्दा बढी मतदाता उत्साहित

बाँके । भोलि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँके जिल्लाभरका मतदान केन्द्रहरू अन्तिम तयारीमा जुटेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट खटिएका कर्मचारीहरूले मतदानस्थल व्यवस्थापन, बुथ निर्माण तथा आवश्यक संरचना तयार पार्ने काम तीव्र गतिमा अघि बढाएका छन्।
आज बुधबार मुख्य निर्वाचन अधिकृत दिपक कुमार दाहाल, सहायक निर्वाचन अधिकृत लाल बहादुर कार्की, सहायक कर्मचारी गणेश कुमार मिश्र तथा वरिष्ठ प्रहरी नायब निरीक्षक मोहम्मद तकि खाँको संयुक्त टोलीले विभिन्न मतदान केन्द्रहरूको स्थलगत अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा रेडियो नेपालसँग कुराकानी गर्दै मुख्य निर्वाचन अधिकृत दाहालले जिल्लामा शान्ति सुरक्षाको अवस्था मजबुत रहेको उल्लेख गर्दै मतदातालाई निर्धक्क भएर मतदान गर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो ।
“स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ। त्यसैले सबै मतदाताहरूलाई ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न अनुरोध गर्दछु।”
उहाँले मतदानमा खटिएका कर्मचारीहरूलाई मतदाताले कुनै असहजता नझेल्ने गरी व्यवस्थापन मिलाउन निर्देशन समेत दिनुभएको छ।
नेपालगञ्ज–१४ भवानीयापुरस्थित महेन्द्र माध्यमिक विद्यालयका मतदान अधिकृत कर्मध्वज छत्यालले प्रहरीको सहयोगमा केन्द्र पूर्ण रूपमा तयारी अवस्थामा रहेको जानकारी दिनुभयो।
यसैगरी, मतदान अधिकृत धन बहादुर शाहीले सबै केन्द्रमा महिला र पुरुषका लागि छुट्टाछुट्टै प्रवेशद्वारको व्यवस्था गरिएको बताउनुभयो।
नेपाल राष्ट्रिय प्राथमिक विद्यालय सन्तालियाका मतदान अधिकृत भक्ति प्रसाद काफ्लेले महिला, पुरुष तथा ज्येष्ठ नागरिकका लागि अलग–अलग लाइनको व्यवस्था गरिएको जानकारी दिँदै सम्पूर्ण तयारी पूरा भइसकेको उल्लेख गर्नुभयो।
जिल्लामा तीन निर्वाचन क्षेत्र अन्तर्गत १३९ मतदानस्थल र ४०० मतदान केन्द्र निर्धारण गरिएको छ। बाँकेमा कुल ३ लाख ५० हजार ३७१ मतदाता रहेका छन्। जसमध्ये १ लाख ७२ हजार २२३ महिला, १ लाख ७८ हजार ३३९ पुरुष र ९ जना अन्य मतदाता रहेका छन् ।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन प्रशासन, सुरक्षा निकाय र निर्वाचन कर्मचारीहरू उच्च सतर्कताका साथ तयारीमा जुटेका छन्। भोलि हुने मतदानलाई उत्साहपूर्वक सफल बनाउन सबै पक्ष सक्रिय देखिएका छन्।








प्रतिक्रिया राख्नुहोस्