तपाईँ सुन्दै हुनुहुन्छः

भुटनदेवी माविमा मकवानपुरको मतगणना, ८ केन्द्रका मतपेटिका छिमेकी जिल्लाबाट ढुवानी

मकवानपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना भुटनदेवी माध्यमिक विद्यालयमा गरिने भएको छ। मकवानपुरका दुवै निर्वाचन क्षेत्रको मतगणना सोही विद्यालयमा गर्ने तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार क्षेत्र नम्बर १ को मतगणना विद्यालयको ‘ए’ ब्लक उत्तरतर्फको भवनमा र क्षेत्र नम्बर २ को मतगणना ‘बी’ ब्लकमा गरिनेछ। सबै मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि मात्र मतगणना सुरु गरिनेछ।

निर्वाचनलाई व्यवस्थित र पारदर्शी बनाउन मतगणनास्थलमा सुरक्षा व्यवस्थासहित आवश्यक पूर्वतयारी गरिएको जनाइएको छ।

८ केन्द्रका मतपेटिका अन्य जिल्ला हुँदै ल्याइने

मकवानपुरका ८ मतदान केन्द्रमा सिधा सडक पहुँच नभएकाले मतपेटिका छिमेकी जिल्ला हुँदै ल्याइने भएको छ।

क्षेत्र नम्बर १ अन्तर्गत बकैया गाउँपालिकाका ३ मतदान केन्द्रका मतपेटिका बारा र रौतहट हुँदै ल्याइनेछ। बकैया–१ स्थित सरस्वती माध्यमिक विद्यालय मोरङे र वडा नम्बर–२ को बालविकास निमावि सरस्वती भमराका मतपेटिका रौतहटको चपुर हुँदै ल्याइनेछ भने बकैया–६ स्थित राष्ट्रिय कालिका प्राथमिक विद्यालयको मतपेटिका निजगढ, बारा हुँदै ल्याइने निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिनुभयो।

त्यसैगरी, क्षेत्र नम्बर २ अन्तर्गत राक्सिराङ गाउँपालिकाका ५ मतदान केन्द्रका मतपेटिका चितवन हुँदै ल्याइनेछ। वडा नम्बर–६ का राष्ट्रिय माध्यमिक विद्यालय सिलिङे र आयुर्वेद औषधालय सिलाधुनी, वडा नम्बर–७ का सातकन्या आधारभूत विद्यालय र दाम्राङ प्राथमिक विद्यालय तथा वडा नम्बर–८ स्थित ठूलो तोड्के माविका मतपेटिका राप्ती नगरपालिका–भण्डारा हुँदै मतगणनास्थल ल्याइनेछ।

अन्य जिल्ला हुँदै मतपेटिका ल्याउनुपर्ने भए पनि मतदानकै दिन मतगणनास्थलमा पुर्‍याउने व्यवस्था मिलाइएको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ।

सुरक्षा व्यवस्था कडा

अन्तरजिल्ला सडक प्रयोग गर्नुपर्ने भएकाले सम्बन्धित जिल्लाका सुरक्षा निकायसँग समन्वय गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ। प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार सुरक्षा प्रमुखहरूसँग छलफल गरी आवश्यक प्रबन्ध मिलाइएको छ।

मकवानपुरमा कुल ३७४ मतदान केन्द्र तोकिएका छन्। तीमध्ये १९ मतदानस्थल अति संवेदनशील सूचीमा परेका छन्, जसमा २६ मतदान केन्द्र छन्। त्यसैगरी ६० मतदानस्थल संवेदनशील र ८८ मतदानस्थल सामान्य श्रेणीमा वर्गीकृत गरिएको जनाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button