तपाईँ सुन्दै हुनुहुन्छः

पर्सा–२ का उम्मेदवार मनोज चौधरीसहित ५ जना नियन्त्रणमा, कारबाट शंकास्पद वस्तु बरामद

वीरगञ्ज ।नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरीसहित पाँच जनालाई गएराति प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलबार राति करिब ११ बजे पर्सागढी नगरपालिका–३, बढनिहार चोकमा सुरक्षा जाँचका क्रममा उनीहरू सवार बा १० च १२५० नम्बरको रातो कारबाट शंकास्पद वस्तु बरामद भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार मौन अवधिमा उम्मेदवार चौधरी आफ्ना कार्यकर्ता भेट्न जाँदै गर्दा नियमित चेकजाँचका क्रममा कारको पछाडिको डिक्कीमा उक्त वस्तु फेला परेको थियो। वस्तु बम हुन सक्ने आशंकामा नेपाली सेनाको टोलीलाई बोलाइएको छ। हाल सवारी साधन सेनाको सुरक्षा घेरामा राखिएको छ भने उम्मेदवारसहितका व्यक्तिहरू प्रहरी हिरासतमा छन्।

प्रहरीले चौधरीसँगै गाडीमा सवार सत्यनारायण चौधरी, रामेश्वर मण्डल, सुरज कार्की र वीरगञ्ज छपकैया निवासी चालक मुन्ना अन्सारीलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। शंकास्पद वस्तुको प्रकृतिबारे सेनाको डिस्पोजल टोलीले जाँच गरेपछि मात्र थप विवरण सार्वजनिक गरिने प्रहरीको भनाइ छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button