रौतहटमा निर्वाचन सुरक्षाको तयारी पूरा
रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित तथा शान्तिपूर्ण रुपमा सम्पन्न गराउन जिल्लाभर सम्पूर्ण सुरक्षा तयारी पूरा भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

रौतहटको चारवटा निर्वाचन क्षेत्रमा फैलिएका १५७ वडामा २७७ मतदान स्थल र ५४१ मतदान केन्द्र तोकिएका छन् । जिल्लाभर ४ लाख ३६ हजार ६ सय ११ मतदाता रहेका छन् । सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारीहरू पुगिसकेको प्रशासनले जनाएको हो ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना तथा निर्वाचन प्रहरीसहित करिब १० हजार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो । चार वटै निर्वाचन क्षेत्रमा नेपाली सेनाको बम डिस्पोजल टोली समेत खटाइएको उहाँले बताउनुभयो ।
समानुपातिक मत खसाल्न जिल्लाका तीन स्थानमा विशेष व्यवस्थापन गरिएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ । गौरस्थित जिल्ला अदालत रौतहटको चौरमा कर्मचारी तथा सुरक्षाकर्मीका लागि, जिल्ला प्रहरी कार्यालय गौरको ब्यारेक मैदानमा सुरक्षाकर्मीका लागि तथा गौर कारागार मतदान स्थलमा कैदी बन्दीहरूका लागि समानुपातिक मतदानको व्यवस्था गरिएको निर्वाचन कार्यालय प्रमुख छोटेलाल दासले बताउनुभयो ।
निर्वाचन स्थलको पहिलो सुरक्षा घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी रहनेछन् भने बाहिरी घेरामा सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । संयुक्त सुरक्षा टोलीले जिल्लाभर गस्ती तथा पेट्रोलिङलाई तीव्र बनाएको जिल्ला सुरक्षा समितिका प्रमुख एवं प्रजिअ भुसालले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी भुसालले आम मतदातालाई निर्धक्क भई आफ्ना मतदान केन्द्रमा गई मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्