तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा मदिरा बिक्री–वितरणमा अस्थायी प्रतिबन्ध

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लाभर मदिरा बिक्री–वितरण, ओसारपसार तथा सेवनमा अस्थायी प्रतिबन्ध लगाएको छ।गृह मन्त्रालय, निर्वाचन आयोग तथा जिल्ला निर्वाचन सुरक्षा समितिको निर्णयका आधारमा प्रशासनले आज राति १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि प्रतिबन्ध लागू गरेको जनाएको छ।

जिल्ला प्रशासन कार्यालय बाजुराले जारी गरेको सूचनामा निर्वाचनको सुरक्षा व्यवस्था मजबुत बनाउन यस्तो निर्णय गरिएको उल्लेख छ। सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनी द्वारा हस्ताक्षरित सूचनामा मदिरा व्यवसायी, वितरक तथा सर्वसाधारणलाई प्रतिबन्धको पूर्ण पालना गर्न आग्रह गरिएको छ।

निर्वाचनको अवधिमा शान्ति सुरक्षा कायम राख्न तथा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन मदिराजन्य पदार्थको कारोबार र सेवनमा कडाइ गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पुडासैनीले जानकारी दिनुभयो। प्रतिबन्ध उल्लङ्घन गरे कानुन बमोजिम कारबाही हुने चेतावनी समेत सूचना मार्फत दिइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button