हुम्लामा ५ दलले मात्रै बैङ्क खाता सञ्चालन गरे
हुम्ला । चुनावी मैदानमा उत्रिएका उम्मेदवार मध्ये हुम्लाका ५ उम्मेदवारले मात्र बैङ्क खाता सञ्चालन गरेका छन् । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्येक उम्मेदवारहरूले खाता सञ्चालन गरेर उक्त बैङ्कबाट मात्र कारोबार गर्न निर्देशन दिएको भएपनि अहिले सम्म २ उम्मेदवारले आजका मिति सम्म खाता सञ्चालन नगरेको पाइएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लामा दर्ता गराएका सात दलका उम्मेदवार मध्ये पाँचवटा दलले मात्रै राष्ट्रिय वाणिज्य बैङ्क हुम्लामा खाता सञ्चालन गरेको र अन्य दुईवटा दलहरूले खाता नखोलेको आचारसंहिता अनुगमन सहायक अधिकृत अंगबहादुर कार्कीले बताउनु भयो । उहाँका अनुसार हुम्लाका राजनीतिक दल र उम्मेदवारहरूले निर्वाचन आयोगको निर्देशन परिपालना नगरी निर्वाचन आचारसंहिता विपरीत कार्य गरी रहेको बताउनु भयो ।
राष्ट्रिय वाणिज्य बैङ्कमा खाता सञ्चालन गर्नेमा हाल सम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (माओवादी) रहेका छन् । त्यस्तै हालसम्म खाता सञ्चालनका लागि उक्त कार्यालयबाट सिफारिस नलिएको र खाता सञ्चालन नगर्नेहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) रहेको बताउनु भयो ।
निर्वाचन आयोगको परिपत्रले प्रत्येक उम्मेदवारले बैङ्क खाता खोलेर ३३ लाख रुपियाँ सम्म मात्रै खर्च गर्न पाउने प्रावधान रहेको भन्दै निर्वाचन आयोगले हरेक निर्वाचन अधिकृतको कार्यालयमा परिपत्र नै गरेको छ । यतीबेला सबै उम्मेदवारहरू घरदैलो अभियानमा रहेका छन् ।
हुम्लामा नेपाली काँग्रेसबाट जयपति रोकाया, नेकपा एमालेबाट दल फडेरा, नेपाली कम्युनिष्ट पार्टी(नेकपा) बाट दिपेन्द्र रोकाया, राप्रपाबाट छक्क बुढा, रास्वपाबाट टासी लाजोम, नेकपा (माओवादी) बाट कुम्भ बढा र प्रलोपाबाट जटिल कार्की उम्मेदवार रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्