तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन रिपोर्टिङमा सत्य–तथ्य र निष्पक्षतामा जोड

उदयपुर । उदयपुरमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सरोकारवाला निकायहरूले पत्रकारहरूलाई सत्य–तथ्यमा आधारित, निष्पक्ष र जिम्मेवार समाचार सम्प्रेषण गर्न विशेष आग्रह गरेका छन् । निर्वाचनको संवेदनशील समयमा सञ्चारमाध्यमको भूमिकालाई अत्यन्त महत्त्वपूर्ण मान्दै पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिइएको हो ।

बुधबार नेपाल पत्रकार महासङ्घ उदयपुर को आयोजनामा, पत्रकार महासङ्घ कोशी प्रदेश समितिको समन्वय तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेश को सहयोगमा “पत्रकार आचारसंहिता सम्बन्धी अन्तरक्रिया” कार्यक्रममा वक्ताहरूले निर्वाचनको समयमा तथ्यपरक, सन्तुलित र व्यावसायिक पत्रकारिता अपरिहार्य रहेको धारणा राख्नुभयो । 

निर्वाचन आचारसंहिता अनुगमन समिति उदयपुरका अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेयले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि नियमित अनुगमन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित निकायका गतिविधिहरू निरन्तर निगरानीमा राखिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय उदयपुर का प्रमुख दीपक दाहालले निर्वाचनको तयारी लगभग सम्पन्न भइसकेको जानकारी दिनुभयो । केन्द्रबाट प्राप्त हुनुपर्ने सामग्री तथा जिल्ला स्तरमा खरिद गरिएका आवश्यक सामग्रीहरूको व्यवस्थापन पूरा भइसकेको र मतपत्रसमेत जिल्लामा आइसकेको उहाँले बताउनुभयो । ती सामग्रीहरू सम्बन्धित निकायमा पठाइसकिएको कार्यालयले जनाएको छ ।

निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन कर्मचारीहरूको तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र–२ को तालिम सम्पन्न भइसकेको छ भने क्षेत्र–१ का लागि तयारी अन्तिम चरणमा पुगेको छ । तालिममा मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य कर्मचारीहरूलाई मतदान प्रक्रिया, अभिलेख व्यवस्थापन र आचारसंहिता सम्बन्धी विषयमा प्रशिक्षण दिइएको दाहालले जानकारी दिनुभयो ।

आगामी फागुन १७ गतेदेखि मतदान केन्द्र तथा मतदान स्थलमा कर्मचारी खटाइने कार्यालयले जनाएको छ । आवश्यक सामग्रीसहित कर्मचारीहरूलाई सम्बन्धित केन्द्रमा पठाउने काम सुरु हुने बताउँदै “अब अन्तिम व्यवस्थापनका काम मात्र बाँकी रहेको” जानकारी दिइएको छ ।

कार्यालयका अनुसार उदयपुरका दुई निर्वाचन क्षेत्रमा कुल ३१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये २० जनाले मात्र निर्वाचन प्रचार–प्रसार खाता खोलेका छन् । आयोगको निर्देशनअनुसार कानुनी प्रक्रिया अनिवार्य रूपमा पालना गर्न उम्मेदवारहरूलाई सचेत गराइएको छ ।

सुरक्षा व्यवस्थालाई समेत सुदृढ पारिएको छ । सुरक्षा निकायसँग समन्वय गर्दै मतपत्र, निर्वाचन सामग्री, जनशक्ति परिचालन तथा सुरक्षा व्यवस्थापनका काम पूरा भइसकेका छन् । अब मतदानको दिनलाई लक्षित गर्दै बाँकी तयारी तीव्र गतिमा अघि बढाइएको सरोकारवाला निकायले जनाएका छन् ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन सञ्चारकर्मी, प्रशासन र सुरक्षा निकायबिचको सहकार्य अझ सुदृढ हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button