तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता पालना सम्बन्धी अभिमुखीकरण

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर पत्रकारका लागि विराटनगरमा कोशी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको आयोजनामा निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता पालना सम्बन्धी कोशी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

नेपाल पत्रकार महासङ्घ अध्यक्ष निर्मला शर्माले प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै पत्रकारलाई धम्की, आक्रमणका घटनामा दैनिकजसो विज्ञप्ति निकाल्नु परिरहेको बताउनुभयो । उहाँले सही र सत्यतथ्य समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । डिजिटल प्लेटफर्मका कारण सही र सत्य सूचनाहरू जनता समक्ष पुर्‍याउन चुनौती रहेको बताउनुभयो ।

पत्रकार महासङ्घले निर्वाचन अभिमुखीकरण कार्यक्रम सातवटै प्रदेशमा सञ्चालन गरिने बताउनुभयो । अभिमुखीकरण कार्यक्रममा पत्रकारले भोगेका चुनौतीबारे छलफल र सुरक्षित हुँदै आचारसंहिता पालनामा आग्रह गर्नुभयो । आचारसंहिता पालना सबै पत्रकारको कर्तव्य भएको अध्यक्ष शर्माले बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य कमल रिमालले पत्रकारले आफूले पनि आचारसंहिता पालना गर्ने र अरू पत्रकारलाई पनि पालना गराउन लगाएर जिम्मेवार भएर रिपोर्टिङ गर्न आग्रह गर्नुभयो ।

पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले सही र सत्य समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । उहाँले मिथ्या समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका पूर्व अध्यक्ष लिलाबल्लभ घिमिरेले निर्वाचनका समयमा धेरै उत्तेजित भएर रिपोर्टिङ नगर्न आग्रह गर्नुभयो । आचारसंहिता पालना गर्दा पत्रकार सुरक्षित हुने उहाँले बताउनुभयो ।

अभिमुखीकरण कार्यक्रममा कोशी प्रदेशका तीन दर्जन बढी पत्रकारको सहभागिता रहेको छ । सहजीकरण महासङ्घ अध्यक्ष निर्मला शर्मा र रविराज बरालले गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button