इलाममा खुल्यो मल्टिप्लेक्स सिनेमा हल

इलाम । इलाममा मल्टिप्लेक्स सिनेमा हल सञ्चालनमा आएको छ ।
फ्रेन्ड्स सिनेमाजले इलाममा सञ्चालन गर्न लागेको हल आज एक समारोहका बीच उद्घाटन गरिएको छ । १ सय ८८ जना अट्ने क्षमताको ‘सिङ्गल स्क्रिन’ भएको हल सञ्चालनमा आएको हो । इलाम नगरपालिकाको स्वामित्व रहेको इलाम बजारको पुरानो बसपार्कस्थित बहुतले पार्किङ भवनको तेस्रो तलामा हल निर्माण गरिएको छ ।

इलाम नगरपालिकाका पूर्व मेयर तथा इलामका पूर्व सङ्घीय सांसद महेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा इलाम नगरपालिकाका मेयर केदार थापा , ‘आबाट आमा’ का कलाकार पल शाह, उषा उप्रेती, निर्देशक चन्द्रलगायत उपस्थिति थियो । बस्नेतको कार्यकालमा इलाम नगरपालिका र कोसी प्रदेश सरकारको लगानीमा फिल्म हलसहित बहुतले पार्किङ भवन निर्माण थालिएको पूर्व मेयर बस्नेतले बताउनुभयो । मनोरञ्जनको लागि इलाममा फिल्म हल र पार्किङको आवश्यकता ठानेर तत्कालीन समयमा बहुतले भवनको परिकल्पना गरिएको बस्नेतले बताउनुभयो ।
भवन इलाम नगरपालिकाले ठेक्कामार्फत सञ्चालनको लागि निजी क्षेत्रलाई दिएको इलाम नगरपालिकाका मेयर केदार थापाले बताउनुभयो । अघिल्लो स्थानीय सरकारले सुरु गरेका महत्त्वपूर्ण कार्यलाई आफ्नो कार्यकालमा प्राथमिकतामा राखेर नै भवन निर्माण सम्पन्न गरी प्रयोगमा ल्याइएको मेयर थापाले बताउनुभयो ।
इलाम नगरपालिका– ७ मा रहेको यो भवन इलाम नगरपालिकाले २५ वर्षको लागि मासिक २ लाख १० हजार (कर बाहेक) मा ठेक्कामा दिएको इलाम नगरपालिका–७ का वडा अध्यक्ष नरेश श्रेष्ठले बताउनुभयो। पार्किङ व्यवस्थापनसहित मनोरञ्जनको लागि महत्त्वपूर्ण रहेको हलले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने अपेक्षा रहेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

फ्रेन्ड्स सिनेमाजका सञ्चालक पुष्कर घिमिरेका अनुसार टुके प्रोजेक्टर र डल्बीको गुणस्तरीय ध्वनिसहितको अत्याधुनिक सुविधासहित हल निर्माण गरिएको बताउनुभयो । मल्टिप्लेक्सको सुविधा भएको हल इलाममा पहिलो पटक सञ्चालनमा आएको हो ।
साढे ३ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको सञ्चालकले जनाएका छन् । हल अत्याधुनिक सुविधासहित पार्किङ र कफी हाउस सुविधासहित मनोरञ्जनको गन्तव्य बनेको छ ।

यो हल निर्माण भएपछि फिल्म हेर्न जिल्ला बाहिर जानु नपर्ने सञ्चालक पुष्कर घिमिरेले बताउनुभयो । हलमा आज देखि ‘आबाट आमा’ र ‘कुमारी’ को प्रदर्शन थालिएको छ । सिनेमाजले तेस्रो हल इलाममा सञ्चालनमा ल्याएको हो । धरान र बुटवलमा यस अघि नै सञ्चालन गरिसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्