रौतहटमा यात्रुवाहक बस दुर्घटना: ९ जना घाइते
रौतहट। रौतहटको सदरमुकाम गौरस्थित गौर नगरपालिका–४ दाल मिल नजिक गौर–चन्द्रपुर सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

चन्द्रपुरबाट गौरतर्फ जाँदै गरेको ना ८ ख ८७७३ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकछेउमा रहेको विद्युत् पोलमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बसमा करिब ४० जना यात्रु सवार रहेकोमा ९ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
दुर्घटनामा रौतहट गढीमाई नगरपालिका–१ बस्ने ३२ वर्षीय रंजय यादवको टाउको र अनुहारमा चोट लागेको छ भने बारा कलैया उपमहानगरपालिका–१ भवरा टोल बस्ने ३० वर्षीय नुर महम्मदको टाउको र ढाडमा चोट लागेको छ । भारत गमडिया जिल्ला बस्ने ४४ वर्षीय देव नारायण बैठाको दाहिने हातमा चोट लागेको छ भने सोही स्थानका २० वर्षीय सुभम कुमार बैठाको हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
यसै गरी रौतहट यमुनामाई गाउँपालिका–३ मलहनिया बस्ने ४२ वर्षीय विनोद बैठाको दाहिने हात, नाक र खुट्टामा चोट लागेको छ । उहाँलाई थप उपचारका लागि आँखा अस्पताल पुरेनवा पठाइएको छ भने, भारत शिवहर जिल्ला बस्ने ५५ वर्षीय ललन साहको अनुहार र खुट्टामा सामान्य चोट लागेको छ । रौतहट गरुडा नगरपालिका–४ बस्ने २६ वर्षीय निरज कुमार गुप्ताको दाहिने कान र हातमा चोट लागेको छ । उहाँलाई थप उपचारका लागि वीरगञ्जतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
भारत सितामढी जिल्ला बस्ने ६० वर्षीय लसिभ सहनीको अनुहारमा सामान्य चोट लागेको छ भने मकवानपुर हेटौडा उपमहानगरपालिका–४ बस्ने ४२ वर्षीया सुनिता केशरीको दुवै खुट्टामा चोट लागेको छ । अन्य घाइतेहरूको उपचार प्रादेशिक अस्पताल गौरमा भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापा मगरले जानकारी दिनुभयो ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटिएको थियो । बस चालक रौतहट चन्द्रपुर नगरपालिका–८ बस्ने २४ वर्षीय रिजवान खानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाग्रस्त बस घटनास्थलमै रहेको र आवश्यक प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्