रमजान पर्व आजदेखि देशभर सुरु
बाँके। इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व रमजान आजदेखि देशभर सुरु भएको छ।
एक महिनासम्म चल्ने रमजानमा मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्तसम्म पानीसमेत नखाई निराहार व्रत बस्छन्, जसलाई रोजा भनिन्छ। बिहान तोकिएको समयअघि ‘सेहरी’ र सूर्यास्तपछि ‘इफ्तार’ गरेर रोजा खोल्ने परम्परा छ। सूर्य उदाउने र अस्ताउने समयअनुसार रोजाको समय तालिका दैनिक परिवर्तन हुँदै जान्छ।
इस्लामिक (हिजरी) पात्रोको नवौँ महिना रमजानलाई विशेष पवित्र मानिन्छ। यही महिनामा मुस्लिमहरूको धर्मग्रन्थ कुरान अवतरण भएको विश्वास गरिन्छ। रमजानलाई आत्मसंयम, त्याग, तपस्या र दान–पुण्यको महिना मानिन्छ। यस अवधिमा नमाज अदा गर्ने, कुरान पाठ गर्ने तथा गरीब र दीनदुःखीको सेवा गर्ने चलन छ।
रमजान सुरु हुनु अघिल्लो साँझ चन्द्र दर्शन गर्ने परम्परा रहेको छ। चन्द्रमा देखिएपछि रमजान प्रारम्भ भएको घोषणा गरिन्छ। एक महिनाको रोजा समापनपछि इदुल फित्र पर्व मनाइन्छ।नाबालक, बिरामी, दीर्घरोगी तथा गर्भवती महिलालाई रोजा अनिवार्य गरिएको छैन।
रमजानको अवसरमा नरैनापुर गाउँपालिका का अध्यक्ष शैयद इस्तियाक अहमद शाह ले धार्मिक सहिष्णुता, सद्भाव र आपसी सम्मान मजबुत बनाउन आग्रह गर्नुभयो।यस्तै जानकी गाउँपालिका का अध्यक्ष छब्बन खाँ ले संयम, शान्ति र समृद्धिको कामना व्यक्त गर्नुभयो।
जामा मस्जिदका पूर्व अध्यक्ष हाजी अब्दुल रहमान मियाँ ले रमजान आत्मशुद्धि, अनुशासन र मानव सेवाको महिना भएको उल्लेख गर्दै सहकार्य र सद्भावको सन्देश दिनुभएको छ।यस पवित्र महिनाले समाजमा सद्भाव, सहिष्णुता र मानवताका मूल्यहरू बलियो बनाओस् भन्ने कामना गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्