तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा निर्वाचन सामाग्री आइपुग्यो 

चितवन  । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सामग्री चितवन आइपुगेको छ  ।निर्वाचन सम्पन्न गराउन ५१ प्रकारका निर्वाचन सामग्री आवश्यक पर्छ ।

निर्वाचन कार्यालय भरतपुरका प्रमुख भीमसेन कार्कीले चितवनका तीन वटा क्षेत्रको निर्वाचन सम्पन्न गराउन मतपत्रसहितका सामग्री आइपुगेको बताउनुभयो । उहाँका अनुसार छाप, मसी, कैँची, मार्कर, पेन, ब्लेड, तोसर, टेप, कपडालगायत मतपत्र र मतपेटिका आइपुगेको  छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन् । दुई लाख १७ हजार ३१४ पुरुष र दुई लाख २४ हजार ७६६ महिला एवं दुई जना तेस्रो लिङ्गी छन् । १६२ वटा स्थल र ४९४ वटा केन्द्रबाट मतदान हुनेछ । निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले प्रतिनिधिसभा निर्वाचन २०७९ को निर्वाचनको तुलनामा अहिलेको निर्वाचनमा ३३ हजार ७४० नयाँ मतदाता थपिएका छन् । ३४ वटा मतदान केन्द्र थप भएको छ ।

क्षेत्र नं १ मा एक लाख ४९ हजार ६२१ मतदाता छन् । यसमा ७६ हजार ७६१ पुरुष र ७५ हजार ८६० जना महिला रहेका छन् । यस क्षेत्रमा ५६ मतदान स्थल र १६८ मतदान केन्द्र रहेका छन् ।

यस्तै, क्षेत्र नं २ मा एक लाख ३७ हजार १५२ मतदाता छन् । तीमध्ये ६७ हजार ८५७ पुरुष र ६९ हजार २९४ महिला एवं एक जना तेस्रो लिङ्गी रहेका छन् । यहाँ ४८ स्थल र १५२ वटा केन्द्रबाट ती मतदाताले मतदान गर्नेछन् । क्षेत्र नं ३ मा एक लाख ५५ हजार ३०९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । तीमध्ये ७५ हजार ६९६ पुरुष र ७९ हजार ६१२ महिला एवं एक जना तेस्रो लिङ्गी रहेका छन् । उनीहरूले ६३ स्थल र १७४ केन्द्रबाट मतदान गर्नेछन् ।

यस्तै, चितवनका सात पालिकाका सबै ९८ वडामा मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ । निर्वाचन कार्यालय भरतपुरका प्रमुख कार्कीले आइतबारदेखि घरदैलोमै पुग्ने गरी मतदाता शिक्षा सुरु भएको जानकारी दिनुभयो  । “मतदाता शिक्षा कार्यक्रम फागुन १७ गतेसम्म चल्छ, चिया–चौतारादेखि चिया पसलसम्म पुग्छ”, कार्कीले भन्नुभयो , “स्वयंसेविका मतदाता शिक्षाका लागि खटिएका छन् ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button