हेटौँडा उपमहानगरद्वारा सात महिनामा २२ करोड ४५ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो सात महिनामा २२ करोड ४५ लाख ४९ हजार ४८५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख मनोज सुवेदीका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २२ करोड ४३ लाख ८४ हजार ८८८ रुपैयाँ राजस्व सङ्कलन भएको थियो। यस आधारमा चालु आवको सात महिनामा राजस्व सङ्कलन अघिल्लो वर्षको तुलनामा सामान्य वृद्धि भएको देखिएको छ।
उपमहानगरपालिकाले चालु आवको सात महिनामा सम्पत्ति करबाट ५ करोड ५४ लाख ९३ हजार १३८ रुपैयाँ, घर बहाल करबाट ३ करोड ४४ लाख ७० हजार ७०६ रुपैयाँ र नक्सा पास दस्तुरबाट १ करोड २१ लाख २७ हजार २७ रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
त्यसैगरी, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट २ करोड ४४ लाख ४९ हजार २४० रुपैयाँ, सिफारिस दस्तुरबाट १ करोड ७० लाख ३९ हजार १०० रुपैयाँ, बहाल बिटोरी करबाट १ करोड ७२ लाख ४४ हजार १४९ रुपैयाँ तथा व्यवसाय करबाट १ करोड ७१ लाख २ हजार ६१६ रुपैयाँ उठाइएको छ।
यस्तै, अन्य बिक्रीबाट ३ करोड २ लाख २३ हजार रुपैयाँ राजस्व प्राप्त भएको राजस्व शाखाले जनाएको छ। उपमहानगरपालिकाले कर प्रशासनलाई प्रभावकारी बनाउँदै आन्तरिक राजस्व वृद्धि गर्ने लक्ष्यका साथ विभिन्न सुधारका कार्यक्रम अघि बढाइरहेको जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्