तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा विद्यालय बस चालक नै मापसेमा, महानगरद्वारा कडा कारबाहीको चेतावनी

पोखरा । पोखरामा विद्यालय बस चालकहरू नै मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने गरेको भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले गरेको चेकिङमा पोखराका केही स्कुल बसका चालकहरूले नै मापसे गरेको पुष्टि भएको हो ।

स्कुल बस चालकहरूले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने गरेको गुनासो व्यापक आएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले विशेष चेकजाँच अभियान सञ्चालन गरेको हो ।

आज (सोमबार) बिहान करिब ९ः३० बजे जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत कार्यालयबाट ट्राफिक प्रहरी सहित खटिएको संयुक्त टोलीले स्कुल बस चालकहरूलाई लक्षित गरी मापसे परीक्षण गर्दा पाँच जना चालक मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएपछि नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

माउण्ट हेभन बोर्डिङ स्कुलको ग १ क ३६७४ नम्बरको बस चालक, पोखरा महानगरपालिका–१५ बस्ने ३३ वर्षीय आनन्द परियार, कुमुदिनी होम्स बोर्डिङ स्कुलको ग १ क १३८२ नम्बरको बस चालक, पोखरा–५ प्रस्याङ बस्ने ३७ वर्षीय गौतम गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसै गरी बिश्द्धेश्वरी बोर्डिङ स्कुलको ग १ क ६२२१ नम्बरको बस चालक, पोखरा–१५ बस्ने ४४ वर्षीय भक्तबहादुर गुरुङ, अंजली बोर्डिङ स्कुलको ग १ क ६४०३ नम्बरको बस चालक, पोखरा–१६ बस्ने ४८ वर्षीय डम्बरबहादुर गुरुङ र एस.ओ.एस. बोर्डिङ स्कुलको ग १ क ६४३३ नम्बरको बस चालक, पोखरा–१० रामबजार बस्ने ४७ वर्षीय पदम बिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बालबालिकाको सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएकाले यस्ता लापरबाही गर्ने चालकहरू विरुद्ध कडाइका साथ कारबाही गरिने जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले बताउनु भयो । आगामी दिनमा पनि विद्यालय बसहरूमा नियमित अनुगमन तथा मापसे चेकजाँच अभियानलाई निरन्तरता दिइने उहाँले जनाउनु भयो ।

यसैबिच, पोखरा महानगरपालिकाको समेत यस विषयमा चासो दिएको छ । महानगरको शिक्षा समितिका अध्यक्ष पोखराका मेयर धनराज आचार्यले सूचना जारी गर्दै फागुन ५ गतेदेखि सबै विद्यालय तथा कलेज बस चालकहरूको अनिवार्य मापसे चेकिङ गरिने जानकारी गराउनु भएको छ । महानगरका अनुसार विद्यालयका बालबालिकाको सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा कुनै किसिमको लापरबाही सह्य नहुने उहाँले स्पष्ट पार्नुभयो ।

मापसे गरेको भेटिएमा सम्बन्धित चालकलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने भएको छ भने सम्बन्धित शैक्षिक संस्थालाई रु. ५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गरिने महानगरले चेतावनी दिइएको छ । पटक–पटक उल्लङ्घन भएको पाइएमा सम्बन्धित विद्यालयसँग स्पष्टीकरण मागी अनुमति पत्रसमेत निलम्बन गर्न सकिने महानगरले जनाएको छ । मेयर आचार्यले प्रधानाध्यापक तथा प्रिन्सिपलहरूलाई गम्भीर हुन आग्रह गर्दै विद्यालय बस सञ्चालनमा उच्च सतर्कता अपनाउन निर्देशन दिनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button