तपाईँ सुन्दै हुनुहुन्छः

जावलाखेल युथ क्लब आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश

पोखरा । जावलाखेल युथ क्लब २५ औँ आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को सेमिफाइनलमा प्रवेश गरेको छ । 

पोखरा रंगशालाको फुटबल मैदानमा आज (आइतबार) भएको दोस्रो क्वाटर फाइनल खेलमा जावलाखेलले चर्च व्वाइज यूनाइटेडलाई ३—० को गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

जावलाखेलको जितमा धर्मेन्द्र कुवंर, निकोलस ओडेन ह्यामिल्टन र सुजन गुरुङले एक/एक गोलको योगदान दिनुभयो । पहिलो हाफमा दुवै तर्फ गोल हुन सकेन भने दोस्रो हाफको चौथो मिनेटमै जावलाखेलले अग्रता लिएको हो । जावलाखेलका कुवंरले खेलको ४८ औँ, निकोलसले ८८ औँ र गुरुङले इन्जुरी समयमा (९० प्लस १ मा मिनेटमा) गोल गर्नुभएको हो ।

गत वर्ष नेपाल पुलिस क्लबसँग पराजित हुँदै सेमिफाइनल खेलमा बाहिरिएको चर्च व्वाईज यसपाली धरानबाट हतार हतारमा पोखरामा आएको पहिलो खेलबाट बाहिरिनुपर्‍यो । चर्चका प्रशिक्षक सुमन श्रेष्ठले धरानमा हिजो खेलेर आज बिहान मात्र आएको खेलाडीहरूले थकानका कारण उत्कृष्ट खेल प्रदर्शन गर्दागर्दै हार्न पुगेको बताउनुभयो । जावलाखेलका प्रशिक्षक सुनिल कुमार श्रेष्ठले आफूहरूसँग अनुभवी युवा खेलाडीहरू भएकोले आजको खेलमा सन्तोषजनक प्रदर्शन गरेको बताउनुभयो ।

खेलमा जावलाखेलका निकोलस म्यान अफ दी म्याच घोषित हुनुभयो । आजको खेलमा पोखरामा हल्का पानी परेको थियो ।

सोमबार तेस्रो क्वाटर फाइनल खेलमा मनाङ मर्स्याङ्दी क्लब र भारत सिक्किमको थण्डरबोल्ट नर्थ युनाइटेडबिच खेल हुने प्रतियोगिताका संयोजक पूर्णबहादुर गुरुङले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button