मतदाताको प्राथमिकतामा हुलाकी सडक, अधुरो काम चाँडै सम्पन्न गर्न आग्रह
विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मोरङका सिमावर्ती क्षेत्रका मतदाताले उम्मेदवारहरूसँग हुलाकी राजमार्गको काम चाँडै सम्पन्न गर्न आग्रह गरेका छन् ।

विराटनगर–रंगेली सडकखण्ड अन्तर्गतको हुलाकी सडकको जडी पुलदेखि विराटनगरको हाट खोला सम्मको ६ किलोमिटर सडकको काम लामो समयदेखि पुरा नभएको भन्दै चाँडै सम्पन्न गर्न उम्मेदवारसँग मतदाताले आग्रह गरेका हुन् ।
रंगेलीदेखि जुडी पुलसम्म हुलाकी सडकको प्राय सबै काम सम्पन्न भए पनि जुडी पुलदेखि विराटनगरको हाट खोला सम्मको सडकको काम भने अलपत्र छ ।
श्रेष्ठ कन्ट्रक्सनले ठेक्का सम्झौता भएको सडकको काम पटक पटक म्याद थप्दा पनि पुरा नभएपछि नेपाल सरकारले सो कन्ट्रक्सनसंगको ठेक्का सम्झौता केही महिना अघि तोडेको थियो ।
सडकमा नाला र सडक विस्तार गर्नेबाहेक अरू काम नभएपछि मोरङ र झापालाई जोडने उक्त खण्डामा आवतजावत गर्न निकै समस्या हुने गरेको सर्वसाधारणको भनाई छ । खाल्डाखुल्डी सडक र सडकमा उड्ने धुलो धुवाँका कारण आवतजावत गर्न समस्या भएकाको भन्दै काम चाँडै सम्पन्न गर्न मतदाताहरूले आग्रह गरेका हुन् ।
मोरङ धनपालथान गाउँपालिका–६ दादरवैरियाका मतदाता जयनारायण रायले बिरामीको उपचार देखि रोजगारी लगायत हरेक कुराका लागि विराटनगर जानुपर्ने बाध्यता रहेकाले सडक नबन्दा विराटनगर पुग्न निकै समस्या हुने गरेको गुनासो छ ।
सोही ठाउँकी अर्का मतदाता उमादेवी पासवानले सडकमा मालवाहक सवारी साधन आवतजावत गर्दा सो ठाउँमा दुर्घटना हुने गरेको बताउनुभयो ।
कटहरी –४ लोहन्द्राका दूध व्यापारी मुकेश यादवले ६ किलोमिटर सडकको बिचमा रहेको बिजुलीको पोलका कारण दुर्घटनाको जोखिम बढेकाले अधुरो सडकको काम सम्पन्न गर्न आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्