तपाईँ सुन्दै हुनुहुन्छः

मनाङ मर्स्याङ्दी क्लब आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा 

पोखरा । मनाङ मर्स्याङ्दी क्लब २५ औँ आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालाको फुटबल मैदानमा आज (बिहीबार) भएको तेस्रो प्रि-क्वाटरफाइनल खेलमा मनाङले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २-१ को गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । 

मनाङको जितमा रोनिस ढेके राजभक र सुरेश कुमालले एक/एक गोलको योगदान दिनु भयो । एपिएफका युवराज राईले एक गोल गर्नु भयो । खेलको ११ औँ मिनेटमा पहिलो गोल गरी टिमलाई अग्रता दिलाए पनि एपिएफले बाँकी समयमा सम्हालिन नसक्दा र पाएका केही अवसर सदुपयोग गर्न नसक्दा मनाङसँगको पहिलो भेटबाटै यात्रा टुङ्गाउनु पर्‍यो । 

खेलको सुरुमै १ गोलले पछि परेको मनाङ निकै दबाबमा पर्दै उत्कृष्ट कमव्याक गर्न सफल भएको हो । खेलको ५७ औँ मिनेटमा राजभकले गोल गरी खेल बराबरीमा पुर्‍याएसँगै खेलको ७७ औँ मिनेटमा मनाङका कुमालले गोल गरी टिमलाई अर्को चरणमा पुर्‍याउनु भएको हो । आजको खेलमा म्यान अफ दी म्याच मनाङका रोनिस घोषित हुनु भयो । सहारा हङकङका अध्यक्ष सरोज गुरुङ (खम) ले आजको खेलको शुभारम्भ गर्नु भएको हो । 

मनाङले अब भारतको सिक्किम थण्डरबोल्ट नर्थ युनाइटेड सँग फागुन ४ गते क्वाटरफाइनल खेलमा भिड्ने भएको छ । 

यसैबिच, भोलि (शुक्रबार) अन्तिम प्रि-क्वाटरफाइनल खेलमा प्लानिङ व्वाइज यूनाइटेड विरुद्ध फ्रेन्ड्स क्लब बिच खेल हुने भएको आयोजक सहारा क्लबले जनाएको छ । उक्त खेल दिउसो ४ः०० बजे पछि हुने भएको प्रतियोगिताका संयोजक पूर्णबहादुर गुरुङले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button