‘कुनै खालको तालमेल र समीकरण गर्ने पक्षमा छैनौँ’
पोखरा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले कसैसँग पनि चुनावी तालमेल र समीकरण नगर्ने बताउनुभएको छ ।

बुधबार पोखरामा नेकपा कास्कीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले नेकपाले अहिलेको अवस्थामा कसैसँग पनि चुनावी तालमेल र समीकरण नगर्ने बताउनुभयो । उहाँले नेकपाले १६४ निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार उठाएको जानकारी दिँदै बागलुङमा मात्र जनमोर्चासँग चुनावी तालमेल भएको उल्लेख गर्नुभयो ।
निर्वाचन प्रक्रिया धेरै अघि बढिसकेको उल्लेख गर्दै उहाँले निर्वाचन सर्ने हल्ला र भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । फागुन २१ गते हुने निर्वाचन नियमित र सामान्य परिस्थितिको नभएको उल्लेख गर्दै उहाँले भदौ २३ र २४ गतेको जेनजी आन्दोलन तथा त्यसपछिको असहज र असाधारण अवस्थाका कारण बाध्यात्मक निर्वाचनको परिस्थिति बनेको बताउनुभयो ।
राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता र देशभित्र विभिन्न शक्तिहरूको चलखेल रोक्ने उद्देश्यले २६ वटा साना–ठूला घटकबिच एकता गरी नेकपा स्थापना गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

ठूला सभा र लाखौँ खर्च गरेर भोट ल्याउने समय सकिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सूचना प्रविधिको अधिकतम प्रयोग गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
हाल देशमा नेपाली कांग्रेस, एमाले, नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टीबिच मुख्य प्रतिस्पर्धा हुने चर्चा चलिरहेको उल्लेख गर्दै उहाँले जनताको विश्वास जित्नेमा आफूहरू ढुक्क रहेको बताउनुभयो । नेकपाले सार्वजनिक गरेको घोषणापत्रले भ्रष्टाचार नियन्त्रण, सुशासन, सामाजिक न्याय र आर्थिक विकासलाई प्राथमिकतामा राखेको उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्