कर्णाली प्रतिष्ठान पूर्वाधार विकासमा बजेट अभाव हुन्न : मन्त्री गौतम
जुम्ला । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डाक्टर सुधा शर्मा गौतमले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास र सेवा सुधारका लागि बजेट अभाव हुन नदिने बताउनुभएको छ ।

मङ्गलवार जुम्ला पुग्नुभएकी मन्त्री शर्माले कठिन भूगोल र सीमित स्रोत साधनका बीच स्वास्थ्य सेवा, अध्ययन तथा अनुसन्धानका क्षेत्रमा प्रतिष्ठानले गरेको काम अनुकरणीय रहेको उल्लेख गर्नुभयो ।
बजेट अभावकै कारण चेरे चौरमा निर्माण भइरहेको बहुउद्देश्यीय परियोजनाका भवनले पूर्णता नपाएको समस्या रहेकाले एकै चोटी अर्बका हिसाबले बजेट दिन सम्भव नभएको हुँदा वार्षिक बजेटमा प्राथमिकता दिइने उहाँले उल्लेख गर्नुभयो ।
स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन मन्त्रालय लागिपरेको उहाँको भनाइ थियो । मन्त्री शर्माले प्रतिष्ठानलाई रेफर सेन्टरका रुपमा नभई गुणस्तरीय सेवा पाउने स्थानका रुपमा विकास गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले प्रतिष्ठान कर्णालीको गौरव भएको बताउनुभयो । चुनौतीलाई अवसरका रुपमा लिँदै गुणस्तरीय स्वास्थ्य सेवा प्रदानमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रतिष्ठानका उपकुलपति डाक्टर पुजन रोकायाले प्रतिष्ठान स्थापनाको १३ वर्ष बढी बितिसक्दा राज्यले अपेक्षाकृत रुपमा लगानी नगरेकाले आवश्यक सहयोगका लागि अनुरोध गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले प्रतिष्ठानको वृद्धि विकासमा राज्यले पर्याप्त लगानी गर्नुपर्ने बताउनुभयो ।
प्रतिष्ठानका डिन प्रणीत पोखरेलले कर्णाली प्रतिष्ठानलाई अन्य प्रतिष्ठान सरह नहेरी यहाँको आवश्यकतालाई मध्यनजर गरी लगानी बढाउन आग्रह गर्नुभयो ।
जुम्ला पुगेको स्वास्थ्य मन्त्रालयको टोली जुम्ला मुगु हुँदै काठमाडौँ फर्किने छ ।








प्रतिक्रिया राख्नुहोस्