तपाईँ सुन्दै हुनुहुन्छः

काभ्रे–१: उम्मेदवार सबै नयाँ, मतदाताका अपेक्षा भने पुरानै

काभ्रे। काभ्रे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा यसपटक चुनावी माहोल केही फरक देखिन्छ। दलहरूले नयाँ उम्मेदवार अघि सारेका छन्। तर गाउँ–बस्तीमा पुगेपछि सुनिने आवाज भने उही पुरानै छन्—सडक, खानेपानी र सुरक्षित बासस्थान।

नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी यस निर्वाचन क्षेत्रमा कुल १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । दलहरू पुराना भए पनि उम्मेदवार नयाँ भए तापनि मतदाताको अपेक्षा भने पुरानै समस्या समाधानतर्फ केन्द्रित देखिन्छ ।

यस निर्वाचन क्षेत्रमा कुल ६९ वटा वडाहरू पर्दछन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ १ लाख ५१ हजार १ सय मतदाता दर्ता छन् । भौगोलिक रूपमा डाँडापारी, कोशीपारी, तेमाल, रोशी लगायतका विकट क्षेत्रहरू यस निर्वाचन क्षेत्रभित्र समेटिएका छन् ।

यो क्षेत्रको प्रमुख समस्या सडक पूर्वाधार हो । पहिलो चरणमा गाउँ–गाउँ पुगेका उम्मेदवारसँग मतदाताले राम्रो र भरपर्दो सडकको अपेक्षा राखेका छन् । नीति निर्माण गर्ने थलोका रूपमा चिनिने प्रतिनिधिसभालाई धेरै मतदाताले अझै पनि विकासे अड्डाकै रूपमा बुझिरहेका छन् ।

यस निर्वाचन क्षेत्रको सबैभन्दा दुर्गम खानीखोला गाउँपालिका पर्दछ । यहाँ हालसम्म एउटा पनि कालोपत्रे सडक निर्माण हुन सकेको छैन । बर्खा लाग्नेबित्तिकै सडक सञ्जालबाट विच्छेद हुने अवस्था छ । डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिकामा भने मुख्य सडक कालोपत्रे गर्ने काम तीव्र रूपमा भइरहेको छ । यहाँका मतदाताले भित्री सडक र शुद्ध खानेपानीको माग उम्मेदवार समक्ष राखेका छन् ।

तेमाल गाउँपालिकाको मुख्य सडक वर्षौँदेखि अलपत्र अवस्थामा छ । भित्री सडकहरूको अवस्था पनि दयनीय छ । तेमालको अर्को प्रमुख समस्या खानेपानी हो । सुनकोसी नदीबाट लिफ्टिङ गरिएको खानेपानी आयोजना बाढीले क्षति पुर्‍याएपछि अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।

चौंरीदेउराली र रोशी गाउँपालिकासम्म पुग्ने मुख्य सडक कालोपत्रे भए पनि वडा–वडामा जाने सडकहरू सामान्य वर्षा पर्दा पनि यातायात सञ्चालन गर्न नसकिने अवस्थामा छन् । रोशी गाउँपालिका विपद् जोखिमको उच्च क्षेत्र भएकाले मतदाताले बाढीले बगाएका घरहरूको पुनःनिर्माणका लागि पहल थाल्न उम्मेदवारसँग आग्रह गरेका छन् ।

नमोबुद्ध नगरपालिकाका मतदाताले खानेपानीलाई मुख्य एजेन्डाका रूपमा उठाएका छन् । सम्पन्न हुनै लागेका दुई ठूला लिफ्टिङ खानेपानी आयोजना गत वर्ष रोशी खोलाको बाढीले बगाएपछि यहाँका मतदाता तत्काल समस्या समाधान हुनेमा अझै विश्वस्त देखिँदैनन् ।

यस निर्वाचन क्षेत्रमा बेथानचोक गाउँपालिकाको एक वडा पनि पर्दछ । यहाँका मतदाताले समेत सडक पूर्वाधारलाई प्राथमिकतामा राख्दै उम्मेदवारसँग विशेष पहलको माग गरेका छन् ।

धुलिखेल नगरपालिकाका वडा नं. ८, ९, १०, ११ र १२ तथा पनौती नगरपालिकाका वडा नं. ४, ५, ६, ७, ८, ९ र १० यही निर्वाचन क्षेत्रमा पर्दछन् । पनौतीका मतदाताको मुख्य समस्या खानेपानी हो भने अर्को साझा एजेन्डा कृषिको आधुनिकीकरण रहेको छ । यी दुवै नगरपालिकाका वडाहरू उर्वर कृषियोग्य क्षेत्रका रूपमा चिनिन्छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button