टीकापुर साहित्य महोत्सव चैत्र १३ गतेदेखि

टीकापुर कैलाली । टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण यस वर्ष चैत्र १३ गतेदेखि टीकापुरमा हुने भएको छ ।
आयोजक टीकापुर साहित्य समाजले शनिबार (आज) पत्रकार सम्मेलन गरी यस वर्षको टीकापुर साहित्य महोत्सव आउँदो चैत्र १३ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने जानकारी गराएको छ ।
यस वर्षको टीकापुर साहित्य महोत्सव थारू साहित्य तथा सांस्कृतिक उत्सव’ विशेष संस्करणका रुपमा रहने र महोत्सवमा प्रत्येक दिन ७÷७ वटा गरी जम्मा २१ वटा बहस सत्रहरू रहने टीकापुर साहित्य समाजका अध्यक्ष महेश विक्रम शाहले जानकारी गराउनुभयो ।
महोत्सवको पहिलो शृङ्खला अन्तर्गत यस वर्ष चैत ९, १० र ११ गते टीकापुर नगरपालिका, जानकी गाउँपालिका तथा लम्कीचुहा नगरपालिकाका विभिन्न स्थानहरू, विद्यालय तथा माध्यमिक विद्यालयहरूमा सामाजिक सन्देशमूलक सडक नाटक प्रदर्शन गरिने र नाटकको लेखन, निर्देशन नाटककार अशेष मल्लले गर्नुहुने पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
यसका साथै टीकापुर, जानकी र लम्की चुहामा अवस्थित विद्यालयहरूमा अध्ययनरत लेखनमा अभिरुचि भएका विद्यार्थीहरूका लागि एक दिने लेखन कार्यशाला गोष्ठीको आयोजन समेत गरिने छ ।
महोत्सवको महत्वपूर्ण कार्यक्रमका रुपमा सुदूरपश्चिम प्रदेशका सर्जकहरूका लागि सुदूरपश्चिम कविता महोत्सव आयोजन गरिने छ । सुदूरपश्चिमका सम्पूर्ण सर्जकहरूलाई आउँदो फागुन २५ गतेभित्र आ–आफ्ना कविता पठाएर कविता प्रतियोगितामा सहभागी हुन आयोजकले समेत आह्वान गरेको छ ।
कविता प्रतियोगितामा प्रथम हुने कवितालाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई ५ हजार नगद पुरस्कार राशि र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
कविता प्रतियोगितामा सहभागी उत्कृष्ट कविताहरूको सङ्ग्रह प्रकाशन गरिने छ । महोत्सवको पहिलो दिन महोत्सव उद्घाटन, विभिन्न जिल्लाका थारू सांस्कृतिक झाँकी प्रदर्शन, टीकापुर साहित्य महोत्सव स्मारिका विमोचन, विद्वत प्रवचन, सुदूरपश्चिम कविता प्रतियोगिता पुरस्कार प्रदान, बहस सत्र, काव्य श्रवण र साँझ देउडा प्रस्तुत गरिने छ ।
दोस्रो दिन बहस सत्रका साथै गजल श्रवण तथा विद्यार्थीहरूको सांस्कृतिक कार्यक्रमको प्रस्तुति रहने छ । तेस्रो दिन थारू साहित्य तथा सांस्कृतिक उत्सवको विशेष दिन हुने छ । यस विशेष उत्सवका सातवटा सत्रहरूमा थारू समाज, लोकसाहित्य तथा लोक संस्कृतिका विविध आयामहरूमाथि बौद्धिक विमर्श तथा बहस हुने छ ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा हुन गइरहेको टीकापुर साहित्य महोत्सवको मुख्य प्रवर्धकका रुपमा सुदूरपश्चिम प्रदेश सरकार रहेको छ भने टीकापुर नगरपालिका र जानकी गाउँपालिका महोत्सवका प्रवर्धकका रुपमा रहने छन् । यसका साथै नेपाल पर्यटन बोर्ड महोत्सवको सह प्रवर्धक रहने छ भने बैङ्क तथा वित्तीय संस्थाहरू प्रायोजकका रुपमा रहने आयोजकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्