तपाईँ सुन्दै हुनुहुन्छः

‘रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रसारण सेवालाई नागरिकको भरोसायोग्य माध्यम बनाइने’

धनकुटा । सार्वजनिक सेवा प्रसारण नेपालका का.म. प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले रेडियो नेपाल, प्रादेशिक प्रसारण कार्यालय धनकुटाको आज (बुधबार) निरीक्षण गर्नुभएको छ ।

सो अवसरमा उहाँले प्रादेशिक प्रसारण कार्यालय, धनकुटामा कार्यरत कर्मचारीहरुसँग कार्यालयको समसामयिक अवस्थाबारे छलफल गर्नुभयो ।

उहाँले पिएसवी नेपाल अन्तर्गत कर्मचारी सेवा शर्त र सुविधा सम्बन्धि, र आर्थिक प्रशासन विनियमावली सरकारसमक्ष पेश गरी सकिएको जानकारी गराउँनुहुँदै विनियमावली कार्यान्वयनमा आएपछि धेरै समस्या र अन्योलताहरुको हल हुने बताउनुभयो ।

उहाँले करार, सेवा करार, बुलेटिन बेसिस र दैनिक ज्यालादारीमा काम गर्दै आएका कर्मचारीहरुलाई समेत सामाजिक सुरक्षा कोषमा जोड्न प्रक्रिया अघि बढिसकेको उल्लेख गर्नुहुँदै यसले सार्थकता पाउने बताउनुभयो ।

उहाँले मुलुककै दुई ऐतिहासिक र अग्रणी प्रसारण संस्थाहरु रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रसारण सेवालाई पिएसवी नेपालको मर्म अनुरुप नागरिकको भरपर्दो सूचना संवाहकको रुपमा थप सुदृढ बनाइने भन्नुहुँदै यसका लागि सबै कर्मचारीहरुको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

उहाँले आफ्नो मिहिनेत, इमानदारिता र सिर्जनशीलता देखाउन कर्मचारीहरुलाई निर्देशन दिनुहुँदै काम र संस्थाप्रतिको उत्तरदायित्वको आधारमा कर्मचारीहरुको मूल्याङ्कन हुने स्पष्ट पार्नुभयो । उहाँले प्रादेशिक प्रसारण कार्यालय, धनकुटाले अब्बल कार्य सम्पादन गरेको भन्नुहुँदै प्रशंसा गर्नुभयो ।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण, एनटिभी इटहरी च्यानलका प्रमुख बसन्त कुमार रुपाखेतीले आगामी दिनमा आपसी समन्वय र सहकार्यलाई थप मजबुत बनाउदै लानुपर्ने बताउनुभयो ।

कार्यालय प्रमुख तिल विक्रम चेम्जोङले का.मु.प्रमुख प्रशासकीय अधिकृत न्यौपानेलाई प्रादेशिक प्रसारण कार्यालय धनकुटाको समग्र अवस्थाको बारेमा जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button