तपाईँ सुन्दै हुनुहुन्छः

साफ महिला यु–१९ च्याम्पियनसिप प्रतियोगिताको फाइनलमा बङ्गलादेश र भारत भिड्ने

पोखरा । बङ्गलादेश र भारत पोखरामा जारी साफ महिला यु–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेलमा प्रतिस्पर्धा गर्ने भएका छन् । पोखरा रंगशालाको फुटबल मैदानमा आज भएको खेलमा बङ्गलादेश र भारतले जित हासिल गर्दै शनिबार उपाधिको लागि प्रतिस्पर्धा गर्ने भएका हुन् ।

राउण्ड रोविनका आधारमा बङ्गलादेश शिर्ष स्थानमा हुँदै लगातार ३ खेलमा जित हासिल गर्दै ९ अङ्कसहित फाइनलमा यात्रा तय गर्दा भारतले ३ खेल मध्य २ खेलमा जित र एकमा हार व्यहोर्दै ६ अङ्कका साथ शीर्ष दोस्रो हुँदै फाइनलमा यात्रा बनाएको हो । आज भएको पहिलो खेलमा भारतले भुटानलाई एकतर्फी ८—० को गोल अन्तरले पराजित गर्दै दोस्रो खेलमा घरेलु टिम नेपाललाई बङ्गलादेशले ४—० को गोल अन्तरले पराजित गर्दै फाइनलमा यात्रा तय गरेको हो ।

भारतको जितमा पर्ल फर्नान्डेजले ह्याट्रिक, प्रितिका वर्मनले दुई, अलिसा लिङ्ग्दोह, अभिष्टा बस्नेतले र दिव्यानी लिन्डाले एक एक गोलको योगदान दिनुभयो । बङ्गलादेशको जितमा अपि अख्तरले ह्याट्रिक पूरा गर्दा प्रोटिमा मुन्डा ले एक गोलको योगदान दिनुभयो । भूटान र नेपालले पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा एक गोल पनि फर्किउन सकेनन् ।

नेपालसहित ४ देश सहभागी प्रतियोगितामा राउण्ड रोविनका आधारमा उक्त खेल भएको हो ।  बङ्गलादेशले यस अघि भारतलाई पराजित गरेको थियो । बङ्गलादेशले आफ्नो पहिलो खेलमा भुटानलाई १२–० को फराकिलो अन्तरले पराजित गरेको थियो । बङ्गलादेश प्रतियोगितामा अपराजित रहँदै शीर्ष स्थानमा रहेको हो ।  नेपालले भुटानलाई २–१ ले पराजित गरी एक खेलमा मात्र जित हासिल गरेको थियो । यसअघि नेपाल पहिलो खेलमा भारतसँग १–० ले पराजित भएको थियो ।

नेपाल अंक तालिकामा ३ अङ्कसहित तेस्रो र भूटान अङ्कविहीन हुँदै चौथो स्थानमा रहेको छ । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा यही माघ १७ गतेदेखि उक्त प्रतियोगिता पोखरामा सुरु भएको हो । उक्त प्रतियोगिताको साविक बङ्गलादेश र भारत च्याम्पियन हुन् । निर्धारित समय, अतिरिक्त र टाई ब्रेकरमा पनि खेल बराबरीमा पुगेसँगै दुवै देशलाई शीर्ष स्थानमा रहेको घोषणा गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button