मुगुमा आगामी निर्वाचनलाई लक्षित गर्दै नमुना मतदान

जुम्ला । मुगुमा आगामी निर्वाचनलाई लक्षित गर्दै नमुना मतदान गरिएको छ ।
सदरमुकाम गमगढी बजारको देविदत्त गण (ख) सुरक्षा सेमुमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदातालाई मतदान प्रक्रिया, मतदान केन्द्रमा हुने व्यवस्थापन, भिड नियन्त्रण, अनैतिक गतिविधि तथा सम्भावित धाँधली रोकथाम र नियन्त्रणका उपायबारे जानकारी गराउने उद्देश्यले नमुना मतदान गरिएको हो ।
नेपाली सेना श्री हनुमान ध्वज गुल्म मुगुको आयोजनामा मुख्य गरिएको नमुना मतदान कार्यक्रममा मतदान केन्द्रमा अपनाइने सम्पूर्ण प्रक्रिया मतदाता प्रवेशदेखि मत खसाल्ने प्रक्रियासम्म व्यवहारिक रूपमा प्रदर्शन गरिएको थियो ।
निर्वाचनका क्रममा आउन सक्ने सुरक्षा चुनौती र त्यसको व्यवस्थापनबारे सुरक्षाकर्मीहरूले प्रत्यक्ष अभ्यास समेत गरेको श्री हनुमान ध्वज गुल्मका सेनानी खड्ग बहादुर श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार नमुना मतदान कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले मतदान केन्द्रको सुरक्षा सतर्कता, शान्ति सुव्यवस्था अमनचयन कायम गर्ने उपाय र आकस्मिक अवस्थाको व्यवस्थापन सम्बन्धी डेमो प्रस्तुत गरेका थिए । उहाँले यस्ता नमुना मतदान कार्यक्रमले निर्वाचनलाई सुरक्षित, विश्वसनीय र मर्यादित रूपमा सम्पन्न गर्न सुरक्षा निकायहरूबीचको समन्वय र तयारीलाई स्पष्ट पार्ने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्