उदयपुरमा सुन्तला, जुनार र कागतीबाट ३१ करोडभन्दा बढी आम्दानी
उदयपुर । उदयपुरका पहाडी क्षेत्रमा उत्पादन हुँदै आएका सुन्तला, जुनार र कागती किसानका लागि महत्वपूर्ण आम्दानीको स्रोत बन्दै गएका छन् । चालु आर्थिक वर्षमा यी फलफूलको बिक्रीबाट जिल्लामा ३१ करोड १८ लाख ५० हजार रुपैयाँभन्दा बढी नगद भित्रिएको जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ ।

केन्द्रका प्रमुख वरिष्ठ कृषि अर्थ विज्ञ योगेन्द्रप्रसाद यादवका अनुसार ग्रामीण सडक सञ्जाल विस्तारसँगै बजार पहुँच सहज बनेपछि हिउँदे फलफूल खेती तीव्र रूपमा फैलिएको हो । हाल जिल्लाभर ५४५ हेक्टर क्षेत्रफलमा सुन्तला, जुनार र कागती खेती भइरहेको छ, जुन पाँच वर्षअघिको तुलनामा झण्डै दोब्बर हो ।
यस वर्ष ४७० हेक्टरमा सुन्तलाबाट मात्रै २७ करोड ९६ लाख रुपैयाँ आम्दानी भएको छ भने ६४ हेक्टरमा जुनार खेतीबाट ३ करोड १५ लाख र ११ हेक्टरमा कागतीबाट करिब ७० लाख रुपैयाँ आम्दानी भएको छ ।
सुन्तला जोन कार्यक्रमले फलफूल खेती विस्तार र उत्पादन वृद्धिमा महत्वपूर्ण योगदान दिएको कृषि ज्ञान केन्द्र तथा जोन प्राविधिक इकाइ गाईघाटले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्