विधायन समिति बैठक : अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि छलफल

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले नेपाली भाषा, संस्कृतिको महत्त्व अतुलनीय रहेकाले कानुनमा स्थापित गरिने शब्दमा समेत कला र संस्कृतिको मर्म झल्किनुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रियसभाको विधायन समितिको आजको बैठकमा उहाँले समाजको कला संस्कृतिको यस्ता शब्दको महिमा जीवित राख्नुपर्ने धारणा राख्नुभयो ।
समितिले अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ उपर दफावार छलफल गर्ने क्रममा सभाका सदस्यहरूले आ–आफ्नो मत राख्नुभएको थियो ।
बैठकमा समितिका सदस्य डा वेदुराम भुसालले विधेयकको शीर्षक नै परिमार्जन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले नाम र सम्पदाको परिभाषामा रूपान्तरण गर्न रहेको बताउनुभयो ।
त्यस्तै, सदस्य पदमबहादुर परियारले २३ वर्षदेखि बन्न नसकेको उक्त विधेयकलाई छिटोभन्दा छिटो लागू गराउनुपर्ने धारणा राख्नुभयो । साथै उहाँले समाजमा संस्कृतिको रूपमा रहेका केही लगत प्रथालाई भने संरक्षण गर्न नहुने सुझाव दिनुभयो ।

उहाँले स्थानीय तहमा सांस्कृतिक सम्पदाको सूचीकरण गर्न लगाउने भनिएर मात्रै नपुग्ने बताउँदै त्यसलाई प्रभावकारी कार्यान्वयन गराउन बजेटको समेत व्यवस्था हुनुपर्ने प्रष्ट कानुनमा उल्लेख गरिनुपर्ने सुझाव दिनुभयो ।
त्यस्तै, बैठकमा पर्यटन मन्त्रालयका सहसचिव जयनारायण आचार्यले भाषाको सरलता र जनजीवनलाई सहज हुने शब्दाबली छनोट गर्न उपयुक्त हुने धारणा राख्नुभयो ।
समितिका सभापति तुलसाकुमारी दाहालले अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ उपर दफावार छलफल निरन्तर हुने बताउँदै सरोकारवालासँग समेत आवश्यक राय सुझाव सङ्कलन कार्य भइरहेको बताउनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्