तपाईँ सुन्दै हुनुहुन्छः

साफ महिला च्याम्पियनसिप: भारतद्वारा भुटान पराजित

कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको आजको पहिलो खेलमा भारतले भुटानलाई ८.० को फराकिलो अन्तरले पराजित गरेको छ । 

पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा भएको खेलमा प्रभावशाली जित दर्ता गर्ने क्रममा भारतले पहिलो हाफमा सात र दोस्रो हाफमा एक गोल गर्न सफल भयो । भारतकी पर्ल फर्नान्डेजले खेलमा ह्याट्रिक गर्न सफल भइन् । उनले खेलको छैटौँ, ३९औँ र ४१औँ मिनेटमा गोल गरेकी थिइन् । त्यसैगरी प्रतिका बर्मनले २५औँ र ९०औँ मिनेटमा गोल गरिन् । एलिशा लिङदोज, एविस्था र दिव्यानी लिन्डाले समान एक एक गोल गरेका छन् ।

भुटानलाई फराकिलो अन्तरले हराएसँगै भारतले फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । भारतको प्रभावशाली जितसँगै नेपालको फाइनल प्रवेशको सम्भावना कठिन बनेको छ । दुई खेल जितेको भारतले बङ्गलादेशसँग समान छ अङ्क बनाएको छ । बङ्गलादेशले भने एक खेल खेल्न बाँकी छ । घरेलु टोली नेपाल तीन अङ्क सहित तेस्रो स्थानमा छ ।

लिग चरणको अर्को खेल नेपाल र बङ्गलादेशका बीचमा हुँदै छ । यस खेलको नतिजाले फाइनल खेल्ने टोलीको टुङ्गो लाग्नेछ । फाइनल प्रवेशका लागि नेपालले बङ्गलादेशलाई फराकिलो अन्तरले हराउनुको विकल्प छैन । प्रतियोगिताको अङ्क तालिकामा शीर्ष दुईमा रहने टोलीका बीच फाइनल खेल यही माघ २४ गते सञ्चालन हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button