तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीसहित लुम्बिनी प्रदेशमा बढ्दै विदेशी लगानीको चासो

रुपन्देही । लुम्बिनी प्रदेशमा औद्योगिक विकास, रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यसहित चिनियाँ कम्पनी जिङ्सेङ (हाइनान) इन्भेस्टमेन्ट होल्डिङ कम्पनी लिमिटेडले लुम्बिनी प्रदेश सरकारसँग विकास सहकार्य प्रस्ताव अघि सारेको छ । 

कम्पनीले प्रदेश सरकारसँग रणनीतिक साझेदारी स्थापना गर्न चाहेको औपचारिक जानकारी दिँदै समझदारी पत्र (एमओयु)मा हस्ताक्षरका लागि प्रस्ताव गरेको हो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत स्टेवार्ड चोङले १ फेब्रुअरी २०२६ मा लुम्बिनी प्रदेश सरकारलाई सम्बोधन गर्दै पठाएको पत्रमार्फत औद्योगिक विकास, नेपाली उत्पादनको ब्रान्डिङ र चीन निर्यात प्रवर्द्धनका विषयमा सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरेका छन् । पत्रअनुसार जिङ्सेङ (हाइनान) इन्भेस्टमेन्ट होल्डिङ कम्पनी लिमिटेडको प्रतिनिधिमण्डलले १ फेब्रुअरीमै लुम्बिनी प्रदेशको भ्रमण गर्ने योजना बनाएको छ । 

प्रस्तावित समझदारी पत्रमा तीन प्रमुख क्षेत्रलाई सहकार्यको आधार बनाइएको छ । पहिलो, औद्योगिक विकासअन्तर्गत लुम्बिनी प्रदेशभित्र ५० वटा उत्पादनमूलक उद्योग तथा कारखाना स्थापना गर्ने प्रस्ताव छ । 

दोस्रो, नेपाली उत्पादनको विकास, उत्पादन तथा ब्रान्डिङमा सहकार्य गर्ने प्रस्ताव गरिएको छ । उच्च गुणस्तरका नेपाली उत्पादनलाई व्यावसायिक रूपमा विकास गर्दै मूल्य अभिवृद्धि गर्ने र लुम्बिनी प्रदेशलाई राष्ट्रिय ब्रान्डिङ गरिएको उत्पादनको केन्द्रीय केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ । 

तेस्रो, चीनमा नेपाली उत्पादनको निर्यात प्रवर्द्धनलाई सहकार्यको महत्त्वपूर्ण पाटो बनाइएको छ । चिनियाँ बजारमा नेपाली उत्पादनको पहुँच विस्तार गर्ने, द्विपक्षीय व्यापार सम्बन्ध सुदृढ बनाउने र नेपाली उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्य पत्रमा उल्लेख छ । कम्पनीले चीनको विशाल बजारमा नेपाली उत्पादनको प्रवर्द्धनका लागि आवश्यक सहजीकरण, नेटवर्क र बजार पहुँच उपलब्ध गराउने जनाएको छ ।

प्रदेश सरकारका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य विष्णु पन्थीका अनुसार लुम्बिनी प्रदेशमा औद्योगिक विकास र विदेशी लगानी आकर्षण सरकारको प्राथमिकता सूचीमा छ । यस्तो पृष्ठभूमिमा ५० वटा उद्योग स्थापना गर्ने प्रस्तावलाई सम्भावनाको रूपमा हेरिएको पूर्व मन्त्री पन्थीले जनाउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button