तपाईँ सुन्दै हुनुहुन्छः

जापानको औपचारिक भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल स्वदेश प्रस्थान

जापान ( टोकियो ) । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण सकेर आज यहाँको नारिता विमानस्थलबाट स्वदेश प्रस्थान गर्नुभएको छ ।

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा जापानमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन सोमबार यहाँ आउनुभएको थियो ।

जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले अयाोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी हुनुभयो । उहाँले सो समारोहलाई सम्बोधन गर्नुभयो ।

त्यस्तै, टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलले जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्नुभयो । उहाँसँग जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाए र जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले शिष्टाचार भेटवार्ता गर्नुभयो । भ्रमणका क्रममा जापानी व्यापारिक समुदाय र यहाँ रहेको नेपालीहरूको कार्यक्रमलाई पनि उहाँले सम्बोधन गर्नुभयो । उहाँले जापानस्थित नेपाली राजदूतावासको अवलोकनसमेत गर्नुभयो ।

नेपाल जापानबीच १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेको थियो ।

राष्ट्रपति पौडेल जापानको औपचारिक भ्रमणका लागि आइतबार राति नेपालबाट जापानतर्फ प्रस्थान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button