तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा श्रद्धा र इबादतका साथ शब–ए–बारात मनाइयो

बाँके। इस्लाम धर्मावलम्बीहरूले पवित्र पर्व ‘शब–ए–बारात’ बाँकेमा श्रद्धा, इबादत र सामाजिक सद्भावका साथ मनाएका छन् । इस्लामिक पात्रोअनुसार शाबान महिनाको १५औँ दिन मनाइने यो पर्वलाई आत्मशुद्धि, क्षमायाचना र अल्लाहप्रतिको समर्पणको रातका रूपमा लिइन्छ ।

शाबान महिनाको मध्यरातमा मुस्लिम समुदाय मस्जिदमा भेला भई रातभर जाग्राम बसेर इबादतमा सहभागी भएका थिए । कुरान वाचन, सामूहिक नमाज र व्यक्तिगत प्रार्थनाले वातावरण आध्यात्मिक बनेको थियो । नेपालगञ्जस्थित दाउते इस्लामीद्वारा सञ्चालित फैजाने मदिना मस्जिदमा विशेष जमघट भई बिहान सामूहिक नमाज अदा गरिएको थियो । त्यसपछि सहभागीहरू दिवंगत पुर्खा, आफन्त र नातेदारको सम्झनामा कब्रिस्तान पुगेर दुवा (प्रार्थना) गरेका थिए ।

शब–ए–बारातको अवसरमा गरिब, दुःखी र असहायलाई दान दिने तथा एक दिन रोजा बस्ने धार्मिक परम्परालाई पनि मुस्लिम समुदायले आत्मसात् गरेको छ । धार्मिक मान्यताअनुसार यस रात अल्लाहसँग क्षमायाचना र विशेष प्रार्थना गरिन्छ ।

इस्लामिक धर्मगुरु मुफ्ति फजल हकका अनुसार शब–ए–बारात विगत वर्षका कर्मको लेखाजोखा र आगामी वर्षका लागि आत्ममूल्यांकन गर्ने पवित्र रात हो । उहाँका अनुसार साँचो मनले इबादत गर्दा अल्लाह प्रसन्न हुने र पापबाट मुक्ति मिल्ने जनविश्वास छ ।

मुस्लिम समुदायले शब–ए–बारातलाई इस्लामिक पर्वहरूको प्रारम्भिक चरणका रूपमा पनि लिने गर्छन् । यस पर्वपछि करिब १५ दिनमा पवित्र रमजान सुरु हुने र त्यसपछि ईद पर्व मनाइने चलन छ । शब–ए–बारातले बाँकेमा धार्मिक सहिष्णुता र आपसी सद्भावलाई थप बलियो बनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button