प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मत परिणाम

सबै मत परिणाम हेर्नुहोस्

तपाईँ सुन्दै हुनुहुन्छः

गर्भवती महिलालाई अब गाउँमै सहज स्वास्थ्य जाँच

बाँके। बाँकेको जानकी गाउँपालिकामा पहिलो पटक ग्रामीण अल्ट्रासाउण्ड (भिडियो एक्सरे) सेवा सुरु भएको छ । वडा नम्बर ५ स्थित बेलहारी स्वास्थ्य चौकीबाट उक्त सेवा औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

लुम्बिनी प्रदेश सरकारले गाउँपालिकाको मागअनुसार करिब १२ लाख रुपैयाँ बराबरको अल्ट्रासाउण्ड मेसिन उपलब्ध गराएको हो । मंगलबार आयोजित कार्यक्रममा वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष टिका नाथ यादवलाई मेसिन हस्तान्तरण गरिएको छ । जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले वडा अध्यक्ष यादव र स्वास्थ्य चौकी इन्चार्ज गंगा मरासिनीलाई मेसिन हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गर्नुभयो ।

सेवा सुरु भएसँगै अब वडा भित्रका गर्भवती महिलाले सामान्य गर्भ जाँचका लागि पालिकाबाहिर वा सदरमुकाम जानुपर्ने बाध्यता हटेको छ । यसअघि समय, खर्च र झन्झटका कारण गर्भ जाँचमा समस्या हुँदै आएको थियो । नयाँ सेवाले ग्रामीण महिलालाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ । अल्ट्रासाउण्ड सेवा सञ्चालनका लागि तालिम प्राप्त एक जना अनमीको व्यवस्था गरिएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष खाँले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार पालिकाको प्राथमिकता रहेको बताउँदै यसले आमा र शिशु स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।

वडा अध्यक्ष यादवले अल्ट्रासाउण्ड सेवा सुरु भएपछि स्वास्थ्य सेवा थप सहज भएको उल्लेख गर्दै वडाको बजेटबाट क्यालसियम औषधि निःशुल्क वितरण भइरहेको जानकारी दिनुभयो । उहाँले पालिकाका सबै ६ वटै वडामा चरणबद्ध रूपमा सेवा विस्तार गर्ने प्रतिबद्धता जनाउनुभयो ।

स्वास्थ्य शाखा प्रमुख दल बहादुर रानाले वडा नम्बर १ र २ मा अल्ट्रासाउण्ड सेवा पहिलेदेखि सञ्चालनमा रहेको जानकारी दिँदै वडा नम्बर ५ मा सेवा विस्तार गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष जगदिश प्रसाद हरिजन, कार्यपालिका सदस्य राम अचल धोबी, कान्ति काँदु, स्वास्थ्य चौकी इन्चार्ज, महिला स्वयंसेविका, जनप्रतिनिधि तथा स्थानीयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button