तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा एचपीभी खोप अभियान माघ २५ देखि, ४ हजारभन्दा बढी किशोरी लक्षित

मकवानपुर । मकवानपुर जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका निमित्त प्रमुख लक्ष्मण घिमिरेका अनुसार नेपाल सरकारको अभियानअन्तर्गत माघ २५ गतेदेखि फागुन २२ गतेसम्म जिल्लाभर खोप कार्यक्रम सञ्चालन गरिनेछ ।

कार्यक्रमअनुसार माघ २५ देखि २९ गतेसम्म विद्यालयमै पुगेर कक्षा ६ मा अध्ययनरत किशोरीलाई खोप दिइनेछ । त्यसपछि फागुन २२ गतेसम्म पालिकामार्फत विद्यालय बाहिर रहेका १० वर्ष उमेरका बालिकालाई खोप सेवा प्रदान गरिनेछ ।

महिलाहरू भविष्यमा यौन जीवनमा सक्रिय हुनुअघि नै खोप लगाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको घिमिरेले जानकारी दिनुभयो । ह्युमन प्यापिलोमा भाइरस शरीरमा लामो समय रहन सक्ने र पछि क्यान्सरको रूपमा देखिन सक्ने चिकित्सकहरूको भनाइ छ । खोप लगाउँदा सुई दुख्ने वा रिङ्गटा लाग्ने जस्ता सामान्य समस्या देखिन सक्ने भए पनि दीर्घकालीन हानि नहुने उहाँले स्पष्ट पार्नुभयो ।

यस वर्ष जिल्लामा कक्षा ६ मा अध्ययनरत ४ हजार २३० जना किशोरी, विद्यालय बाहिर रहेका १० वर्ष उमेरका १ सय १६ जना बालिका तथा अघिल्लो वर्ष खोप छुटेका ११ देखि १४ वर्ष उमेर समूहका ५७ जना किशोरी गरी कुल ४ हजार ४०३ जनालाई खोप लगाइने खोपका फोकल पर्सन बासु रिमालले जानकारी दिनुभयो ।

नेपालमा प्रत्येक वर्ष करिब २ हजारभन्दा बढी महिलामा पाठेघरको मुखको क्यान्सर देखिने र ठूलो सङ्ख्यामा मृत्यु हुने सरकारी तथ्याङ्क छ । यस रोगको जोखिम घटाउन सरकारले एचपीभी खोप कार्यक्रमलाई यस वर्षदेखि नियमित वार्षिक कार्यक्रमका रूपमा सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button