२५ लाख नक्कली नेपाली नोटसहित रक्सौलबाट १० जना नियन्त्रणमा
बीरगंज। निर्वाचन सुरक्षामा सरकारको ध्यान केन्द्रित भई रहेको बेला नेपालमा २५ लाखभन्दा बढी नक्कली नोट भित्र्याउने योजनामा रहेका ३ जना नेपाली नागरिक सहित १० जना लाई भारतीय प्रहरीले वीरगन्जको सीमावर्ती रक्सौलबाट पक्राउ गरेको छ ।

भारतको बिहार राज्यअन्तर्गत पूर्वी चम्पारण जिल्ला प्रहरी र विशेष कार्यदल एसटिएफको संयुक्त कारबाहीमा सीतामढी जिल्लाको मेजरगञ्ज क्षेत्रमा सञ्चालनमा रहेको अत्याधुनिक नक्कली नोट छाप्ने कारखाना फेला पारी ध्वस्त पारिएको भारतीय प्रहरीले जनाएको छ ।
छापामारीका क्रममा प्रहरीले २५ लाख रुपैयाँ बराबरका नक्कली नेपाली नोट, १ हजार ८ सय ५० रुपैयाँ बराबरका नक्कली भारतीय नोट, नक्कली नोट छाप्न प्रयोग हुने हाइटेक प्रिन्टिङ मेसिन, विशेष कागज, रसायन तथा अन्य सामग्री बरामद गरेको छ ।
यस घटनामा संलग्न १० जना अभियुक्तलाई पक्राउ गरिएको छ, जसमा ३ जना नेपाली नागरिकसमेत रहेका छन् । पक्राउ परेकामाथि सोधपुछ जारी रहेको र थप संलग्न व्यक्तिहरूको पहिचान खुल्दै गएको भारतीय सुरक्षा स्रोतले जनाएको छ ।
पक्राउ परेका मध्ये तिलकबहादुर थिङ, साजन कुमार लामा र सरोज कुमार थिङ्ग नेपाली नागरिक रहेका छन् भने दिलीपकुमार सिंह, श्रीदेव महतो, रोशन कुमार, राकेश सिंह, साहेब कुमार उर्फ लाल, विकासकुमार पटेल, महमद असलम (सात जना) भारतीय रहेको बताइएको छ ।
भारतीय प्रहरीले नक्कली नोट ओसारपसारमा प्रयोग हुने तीन वटा मोटरसाइकल र एउटा कार समेत बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानअनुसार गिरोहले खुला सीमाको फाइदा उठाउँदै सीमावर्ती नाकाहरू प्रयोग गरी नक्कली नोट नेपाल भित्र्याउने योजना बनाएको खुलेको छ । विशेषगरी निर्वाचनको समयमा बजारमा नक्कली नोट फैलाएर आर्थिक अव्यवस्था सिर्जना गर्ने र राजनीतिक गतिविधिमा असर पार्ने उद्देश्य रहेको प्रहरीको आशङ्का छ ।
भारतीय प्रहरीले नक्कली नोट कारोबारलाई राष्ट्रिय सुरक्षा, आर्थिक स्थायित्व र निर्वाचन प्रक्रियामाथिको गम्भीर खतरा ठहर गर्दै घटनालाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान अघि बढाएको जनाएको छ । गिरोहका मुख्य योजनाकार र नेपाल–भारत दुवै पक्षमा सक्रिय अन्य सदस्यको खोजी तीव्र पारिएको छ ।
घटनापछि नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता कडा बनाइएको छ । दुवै देशका सुरक्षा निकायबीच सूचना आदान–प्रदान र समन्वय बढाइएको छ भने नेपाली सुरक्षा निकाय पनि नक्कली नोट नियन्त्रण तथा सम्भावित आपराधिक गतिविधि रोक्न विशेष निगरानीमा लागेको जनाइएको छ ।







प्रतिक्रिया राख्नुहोस्