प्रतिभा सुपर लिग क्रिकेट शुरु
पोखरा । पोखरामा आइतबारदेखि प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट सङ्घको सहयोग र समन्वयमा पोखरामा आजदेखि अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता प्रतिभा सुपर लिग प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको पहिलो दिन आयोजक प्रतिभा मावि र बाल मन्दिर माविले विजयी शुरुवात गरेका छन् । प्रतिभाले वाराही र बाल मन्दिरले ग्लोबल कलेजियटलाई पराजित गर्दै विजयी सुरुवात गरेका हुन् ।
प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा आयोजक प्रतिभा माविले वाराही माविलाई ३ विकेटले पराजित गर्यो । टस जितेर पहिला ब्याटिङ रोजेको वाराहीले १७.१ ओभरमा सबै विकेट गुमाएर १२६ रन बनाएको थियो । वाराहीका लागि अभिषेक अधिकारीले ३७ बलमा ४२ रन, ब्रिजेश भट्टराईले २५ बलमा २० रन र कुशल पौडेलले ८ बलमा १५ रन बनाउनुभयो ।
१२७ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको प्रतिभाले १८.५ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो । प्रतिभाको जितमा सहबुदिन अन्सारीले ४० बलमा ४३ रन जोड्नुभयो । खेलमा विजयी प्रतिभाका खेलाडी सबुदिन अन्सारी प्लेयर अफ दी म्याच घोषित हुनुभयो ।
आइतबार नै भएको दोस्रो खेलमा बाल मन्दिर माविले ग्लोबल कलेजियटलाई ६ विकेटले पराजित गर्यो । टस जितेर ब्याटिङ रोजेको ग्लोबल कलेजियटले कमजोर प्रदर्शन गर्दै १५.१ ओभरमा सबै विकेट गुमाएर ७१ रन मात्रै बनायो । ग्लोबलका लागि विमोचन सापकोटाले ३४ बलमा ४० रन र अपिल पौडेलले १७ बलमा १८ रन बनाउनुबाहेक अन्यले दोहोरो रन बनाउन सकेनन् ।
ग्लोबललाई सस्तैमा समेट्न बाल मन्दिरका सुमन अधिकारीले ३.१ ओभरमा ९ विकेट दिएर ह्याट्रिक विकेटसहित ५ विकेट लिए । सुवास पठायतले ३ ओभरमा ८ रन खर्चेर ३ विकेट हत्याए ।
७२ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको बाल मन्दिरले केवल १२.१ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । बाल मन्दिरका लागि सुरज अधिकारीले १९, श्रीनिवास कठायतले १७ रन जोड्दा बाल मन्दिरका ह्याट्रिक विकेट सहित ५ विकेट लिनुभएको सुमन अधिकारी प्लेयर अफ द म्याच घोषित हुनुभयो ।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै पोखरा–३ का वडाध्यक्ष प्रकाशमान उदासले प्रतिभाले प्रतियोगिता मार्फत खेलकुदको क्षेत्रमा योगदान गरेको भन्दै धन्यवाद दिनुभयो । प्रतियोगिता क्रिकेटको विकास, खेलाडीको प्रतिभा उजागर गर्न तथा क्रिकेटको जग बलियो बनाउने उद्देश्यले गरिएको विद्यालयका प्राचार्य किरण सापकोटाले बताउनुभयो । त्यस्तै, विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले शैक्षिक सान बनेको प्रतिभा माविले शिक्षासँगै खेलकुद र पर्यटनको विकासमा योगदान गर्न प्रतियोगिता आयोजना गरेको बताउनुभयो ।
प्रतियोगिताको विजेता विद्यालयले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र, उपविजेताले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिताको वेस्ट ब्याट्सम्यान, वेस्ट बलर, वेस्ट प्लेयर अफ द सिरिज तथा प्लेयर अफ द म्याचलाई पनि ट्रफी प्रदान गरिने प्राचार्य सापकोटाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्