प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाबाट ९७४ निर्वाचन प्रहरी छनोट
जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाबाट ९७४ निर्वाचन प्रहरी छनोट भएका छन् ।
छनोट भएका मध्ये ८७८ नेपाल प्रहरीतर्फ र ९६ सशस्त्र प्रहरीतर्फ निर्वाचनमा प्रहरी छनोट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिनुभयो ।
सबै प्रक्रियाबाट सफल भई छनोट भएका निर्वाचन प्रहरीलाई आइतबार नियुक्तिका लागि सम्पर्कमा बोलाइएको प्रहरी नायब उपरीक्षक रेग्मीले जानकारी दिनुभयो ।
निर्वाचनका लागि जिल्लामा जम्मा मतदाता ७१ हजार ७३९ रहेका छन् । कूल मतदातामध्ये महिला ३४ हजार २८० र पुरुष ३७ हजार ४५९ रहेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिनुभयो ।
एक नगरपालिकासहित सात गाउँपालिका रहेको जिल्लामा ८५ मतदान स्थल र ११० मतदान केन्द्र कायम गरिएको उहाँले बताउनुभयो । जिल्लामा अति संवेदनशील मतदान स्थलबारे सुरक्षा निकायले मतदान स्थलको वर्गीकरण गर्ने काम गरिएको निर्वाचन कार्यालयले जनाएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा एक स्वतन्त्र र नौ राजनीतिक दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
नेकपा (एमाले) बाट शान्तिलाल महत, नेपाली काँग्रेसबाट दीपबहादुर शाही र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट नरेश भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट विनिता कठायत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ज्ञानबहादुर शाही प्रतिस्पर्धामा हुनुहुन्छ ।
यसैगरी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट विर्खबहादुर रावत, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट मनऋषि धिताल, नेपाल जनता पार्टीबाट रनिलविक्रम शाही र नेकपा (माओवादी)बाट विर्खबहादुर शाही चुनावी मैदानमा हुनुहुन्छ भने भक्तबहादुर रावलले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्