तपाईँ सुन्दै हुनुहुन्छः

आइतबारदेखि विद्यालय स्तरीय प्रतिभा सुपर लिग क्रिकेट हुने

पोखरा । पोखराको प्रतिभा माविको आयोजनामा यही माघ १८ गते (आइतबार) देखि विद्यालय स्तरीय प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका क्रिकेट सङ्घको प्राविधिक सहयोग तथा समन्वयमा हुने उक्त प्रतियोगितामा कास्कीका १२ वटा विद्यालय सहभागी हुने भएको प्रतिभा माविका प्राचार्य किरण सापकोटा बताउनुभयो ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा यही माघ २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी हुने टिमलाई ४ समूहमा विभाजन गरिएको उहाँले जनाउनुभयो । प्रतियोगितामा आयोजक प्रतिभा मावि सहित कुमुदिनी होम्स मावि, ग्लोबल कलेजियट स्कुल, गुरुकुल विद्या सदन, छोरेपाटन मावि, जनप्रिय मावि, टप्स मावि, डायमन्ड मावि, नेपाल–भारत मैत्री विद्यालय, वाराही मावि, बालमन्दिर मावि र मदरल्याण्ड मावि सहभागी हुने भएको प्राचार्य सापकोटाले बताउनुभयो ।

समूह ‘ए’ मा कुमुदिनी होम्स, छोरेपाटन मावि, टप्स मावि, समूह ‘बी’ मा जनप्रिय मावि, गुरुकुल विद्या सदन, मदरल्याण्ड मावि, समूह ‘सी’  प्रतिभा मावि, नेपाल–भारत मैत्री विद्यालय, वाराही मावि, समूह ‘डी’ मा ग्लोबल कलेजियट स्कुल, डायमन्ड मावि र बालमन्दिर मावि रहेका छन् ।

समूह चरणमा प्रत्येक टोलीले आपसमा खेल्नेछन् । प्रत्येक समूहको विजेता सेमिफाइनलमा प्रवेश गर्ने पोखरा महानगर क्रिकेट संघका अध्यक्ष विरेन पुनले बताउनु भयो । उहाँका अनुसार सेमिफाइनलमा समूह ‘ए’–‘बी’ र समूह ‘सी’–‘डी’ का विजेताबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतिभा मावि सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले उक्त प्रतियोगिताले विद्यालय स्तरमा क्रिकेटको विकास र खेलाडीको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रतियोगिताको विजेता विद्यालयले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, प्लेयर अफ द सिरिज र प्लेयर अफ द म्याचलाई पनि ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button