तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा २९ उम्मेदवारमध्ये दुई मात्रै महिला

पाल्पा। पाल्पामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि दल तथा उम्मेदवार मतदाताको माझमा पुग्न थालेका छन् ।

निर्वाचनका लागि २९ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएकोमा महिला दुई जना मात्र उम्मेदवार बनेका छन् । दुई निर्वाचन क्षेत्र मध्ये पाल्पा १ मा राष्ट्रिय जनमोर्चाले नरमती सिंजाली र पाल्पा २ मा नेपाल मजदुर किसान पार्टीले कृष्णशोभा मुस्याख्वलाई उम्मेदवार बनाएको मुख्य निर्वाचन अधिकृत हरि प्रसाद शर्मा उपाध्याय पङ्गेनीले जानकारी दिनुभयो । 

जिल्लाबाट मुख्य ठूला राजनैतिक दलले महिलालाई उम्मेदवारका रुपमा अगाडी बढाउन नसक्नु दुखद रहेको महिला अधिकारकर्मी मीना पन्थीले बताउनुभयो । उहाँले ५५ प्रतिशत महिला मतदाता हुँदा महिलालाई दलहरूले विश्वास नदेखाउनु दुखद पक्ष रहेको बताउनुभयो । 

२०६४ सालको निर्वाचनमा (जतिबेला पाल्पामा ३ निर्वाचन क्षेत्र थियो ) तत्कालीन माओवादीले पाल्पा २ मा लीला सोमैलाई उम्मेदवार बनाएर विजयी गराउन सफल भएको थियो । त्यस यता ठूला दलले महिलालाई उम्मेदवार बनाउन सकेका छैनन् । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले नारायणी शर्मा र नेपाली काँग्रेसले मीना पन्थीको नाम सिफारिस गरेर केन्द्रमा पठाए पनि टिकट भने महिलालाई दिन सकेनन् । 

दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा २९ जना उम्मेदवारले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सहभागिता जनाउँदै छन् । पाल्पा क्षेत्र न १ मा १३ र क्षेत्र न २ मा १६ जना दल तथा स्वतन्त्र उम्मेदवारले २ सीटका लागि प्रतिस्पर्धा गर्ने छन् । जसमा ६ जना स्वतन्त्र उम्मेदवार छन् भने अन्य सबै दलीय उम्मेदवार हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button