तपाईँ सुन्दै हुनुहुन्छः

नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

भक्तपुर । सुर्यविनायक नगरपालिकाको आयोजनामा तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । नगरपालिकाको वडा नं. ६ स्थित बनाचौर खेलमैदानमा आयोजित समारोहमा नगर प्रमुख वासुदेव थापाले झण्डोत्तोलन गर्दै प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको हो ।

नगर प्रमुख वासुदेव थापाले खेल हार–जितभन्दा पनि सहभागिता, अनुशासन र निरन्तरताको महत्त्व रहेको चर्चा गर्नुभयो ।

नगरपालिकाले खेललाई प्राथमिकतामा राख्दै खेलमैदान निर्माण, पूर्वाधार विकास र खेलाडी उत्पादनमा निरन्तर लगानी गरिरहेको नगर प्रमुख थापाले बताउनुभयो । उहाँले खेलकै माध्यमबाट सुर्यविनायकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिइएको बताउनुभयो ।

नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले खेलकुदले युवालाई सकारात्मक दिशामा डोर्‍याउने बताउनुभयो ।प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले खेलकुद क्षेत्रलाई संस्थागत रूपमा अघि बढाइएको जानकारी दिनुभयो ।

सामाजिक विकास समितिका संयोजक तथा नगर प्रवक्ता रवीन्द्र सापकोटाले नगरपालिकाले विगतदेखि नै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै अघि बढाइरहेको बताउनुभयो ।

जिल्ला खेलकुद समितिका अध्यक्ष राजु थापा तथा नगर खेलकुद विकास समितिका सदस्य–सचिव दीपक थापाले प्रतियोगिताको व्यवस्थापन र प्राविधिक पक्ष चुस्त बनाइएको जानकारी दिनुभयो ।

प्रतियोगितामा ३० भन्दा बढी विद्यालयका करिब एक हजार खेलाडी ६ वटा खेल विधामा सहभागी छन् । नगरका विभिन्न स्थानमा खेलहरू सञ्चालन भइसकेका छन् । तीन दिनसम्म चल्ने प्रतियोगिताको समापन बिहीबार हुने आयोजकले जनाएको छ ।

उद्घाटन समारोहमा स्काउट तथा विभिन्न विद्यालयका विद्यार्थीहरूले मार्चपासले गरेका थिए ।

यस अवसरमा विभिन्न विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए । यस वर्ष पहिलो पटक मार्चपासमा सहभागी समूहहरूको मूल्याङ्कनसमेत गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button