तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा ७३ औँ विश्व कुष्ठरोग दिवस मनाइयो

रौतहट । ७३ औँ विश्व कुष्ठरोग दिवसको अवसरमा रौतहट जिल्लामा विविध जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइएको छ । सोमबार जिल्ला स्वास्थ्य कार्यालय रौतहटको समन्वय तथा द लेप्रोसी मिसन नेपालको आयोजनामा “कुष्ठरोग छ ओखती, सामाजिक लाञ्छना र विभेद मुख्य चुनौती” भन्ने मूल नारासहित कार्यक्रम सम्पन्न भएको हो ।

गौरमा आयोजित कार्यक्रममा प्रभातफेरी, सडक नाटक तथा कुष्ठरोगसम्बन्धी विद्यार्थी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो । स्वास्थ्य कार्यालयबाट सुरु भएको प्रभातफेरी घण्टाघर चोक हुँदै नेपाल लजसम्म पुगेर सम्पन्न भएको थियो । त्यसपछि स्वास्थ्य कार्यालय नजिकै कुष्ठरोगसम्बन्धी सन्देशमूलक सडक नाटक प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, हेल्थ असिस्टेन्ट अध्ययनरत विद्यार्थी, प्रहरी, पत्रकार, समाजसेवी, कृषि स्वयं सहायता समूहका पदाधिकारी तथा कुष्ठरोग प्रभावित व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको द लेप्रोसी मिसन नेपालका जिल्ला अधिकृत रोशन कुमार साहले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय गौरका कुष्ठरोग फोकल पर्सन राजकुमार साहका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा जिल्लामा १ सय ३५ जना कुष्ठरोगका बिरामीले नियमित रूपमा औषधि सेवन गरिरहेका छन् । समयमै रोगको पहिचान र नियमित औषधि सेवन गरे कुष्ठरोग पूर्ण रूपमा निको हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश सिंहले कुष्ठरोगबारे समाजमा अझै पनि गलत धारणा र डर त्रास विद्यमान रहेको उल्लेख गर्नुभयो । जनचेतनामूलक कार्यक्रममार्फत सही सूचना प्रवाह गरी सामाजिक लाञ्छना र विभेद अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button