सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग अन्तरक्रिया : शैक्षिक गुणस्तर अभिवृद्धिमा जोड
कञ्चनपुर । कञ्चनपुरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँगको अन्तरक्रिया कार्यक्रममा शैक्षिक गुणस्तर अभिवृद्धिमा जोड दिइएको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिकाको सभाहलमा शिक्षा, विकास तथा समन्वय इकाई कञ्चनपुरको आयोजनामा भएको माध्यमिक तहका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रधानाध्यापकहरूसँगका अन्तरक्रिया कार्यक्रममा शैक्षिक गुणस्तरको विषयले प्राथमिकता पाएको हो । कार्यक्रममा कञ्चनपुर क्षेत्र नम्बर १ अन्तर्गतका ४० वटा माध्यमिक तहका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा योगाचार्य सुरेन्द्र ओझाले प्रधानाध्यापकहरूलाई शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थी केन्द्रित सिकाइ, शैक्षिक योजना निर्माण, अनुशासन तथा शिक्षक र विद्यार्थीबिचको सम्बन्ध, शिक्षामा नैतिक मूल्यको महत्त्व र विद्यालयलाई परिणाममुखी बनाउने उपायका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
विशिष्ट अतिथिका रूपमा सहभागी बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले स्थानीय सरकारले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउँदै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक स्रोत साधनमा निरन्तर सहयोग गर्दै आएको बताउनुभयो । प्रमुख अतिथिका रूपमा सहभागी जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले सामुदायिक विद्यालयको सुदृढीकरणका लागि स्थानीय तह र शिक्षा सम्बद्ध निकायबिचको सहकार्य अनिवार्य रहेको उल्लेख गर्दै सामुदायिक विद्यालय मजबुत भए मात्र समग्र शिक्षा प्रणाली बलियो बन्ने बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका शिक्षा, विकास तथा समन्वय इकाई कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले सामुदायिक विद्यालयको गुणस्तर सुधार अहिलेको प्रमुख चुनौती रहेको उल्लेख गर्दै विद्यालयको भौतिक संरचना मात्र नभई शिक्षण सिकाइको गुणस्तर समेत सुधार नगरी शैक्षिक उपलब्धि वृद्धि गर्न नसकिने स्पष्ट पार्नुभयो । उहाँका अनुसार विद्यालय सुधारमा प्रधानाध्यापकहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको छ । यस प्रकारका कार्यक्रमले सामुदायिक विद्यालयको व्यवस्थापन प्रणाली, सिकाइ प्रक्रिया र शैक्षिक नतिजामा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्