तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा वर्षको पहिलो हिमपात, किसानलाई राहत, हवाई सेवा अवरुद्ध

जुम्ला। कर्णाली प्रदेशका हिमाली जिल्लामा यस वर्षको पहिलो हिमपात भएको छ। जुम्लासहित मुगु, हुम्ला र डोल्पामा शनिबार रातिदेखि मौसम बदलीसँगै हिमपात सुरु भएको हो। कर्णालीका विभिन्न स्थानमा अहिले पनि हिमपात जारी छ।

हिमपातपछि चिसो ह्वात्तै बढ्दा जनजीवन कष्टकर बनेको छ। तर लामो समयदेखि खडेरी झेल्दै आएका किसानका लागि हिमपात राहतका रूपमा आएको छ। पछिल्ला वर्षमा हिउँ ढिलो पर्न थालेपछि हिउँदे बाली तथा स्याउ उत्पादन प्रभावित हुँदै आएको थियो।

हिउँ नपर्दा जौजस्ता हिउँदे बाली सप्रिन कठिन हुने र स्याउ बगैचामा सिँचाइको समस्या देखिने गरेको किसान बताउँछन्। कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार हिउँले खेताली तथा लेकाली क्षेत्रमा लगाइने बालीको सिँचाइ गर्छ। फागुनमा नयाँ स्याउका बिरुवा रोप्न माटोमा चिस्यान कायम राख्न पनि हिउँ आवश्यक हुने उहाँले बताउनुभयो।

जुम्लाका वरिष्ठ किसान रामकृष्ण बुढ्थापाका अनुसार ढिलो भए पनि माघमै परेको हिउँ किसानका लागि खुसीको विषय हो। उत्पादन बढ्ने अपेक्षा गरिएको उहाँको भनाइ छ।

त्यस्तै, मुगुका सञ्चारकर्मी रतन रावलले जिल्लाका अधिकांश क्षेत्रमा बाक्लो हिमपात भएको जानकारी दिनुभयो। कृषि उत्पादनमा आत्मनिर्भर मानिने कार्मारोङ क्षेत्रमा हिमपात भएपछि किसान उत्साहित भएका छन्।

हिमपातका कारण शनिबार कर्णालीमा हवाई सेवा अवरुद्ध भएको छ। नेपालगन्जबाट जुम्ला, मुगु, हुम्ला र डोल्पाका नियमित उडान रोकिएका छन्, जसका कारण यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन्। यद्यपि सडक यातायात भने सञ्चालनमै रहेको छ।

हिमपातपछि कर्णालीका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ। विशेषगरी कर्णाली राजमार्ग हुँदै मुगुको राराताल र मुर्माटपमा पर्यटक पुग्ने गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button