तपाईँ सुन्दै हुनुहुन्छः

विद्यार्थीहरूमा भएको ज्ञान, सीपलाई आर्थिक रूपान्तरणमा प्रयोग गर्न जरुरी : प्रदेश प्रमुख डा. कर्ण  

जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख प्रा.डा. सुरेन्द्र लाभ कर्णले विद्यार्थीहरूमा भएको ज्ञान, सिप र प्रविधिलाई मुलुकको आर्थिक रूपान्तरण प्रयोग गर्न जरुरी रहेकोमा जोड दिनु भएको छ । 

प्रदेश प्रमुख कर्णले एक सय १६ वर्ष पुरानो जनकपुरधामको याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय ज्ञानकूप परिसरमा आज आयोजनामा भएको बृहत् शैक्षिक मेलाको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो । 

उहाँले मेलामा विद्यार्थीहरूमा परम्परागत ज्ञानका साथै विज्ञान तथा प्रविधिका क्षेत्रमा सिर्जना गरेको आविष्कारले विद्यार्थीहरूमा भएका ज्ञान तथा सिपको प्रस्फुटन गर्ने काम भएकाले यसको सिको मधेश प्रदेश सहित मुलुकका अन्य सामुदायिक विद्यालयहरूले अनुसरण गर्नु पर्ने धारणा राख्नु भयो । 

उहाँले बृहत् शैक्षिक मेलामा प्रदर्शन गरिएको आविष्कारले विद्यार्थीहरूमा सबै प्रकारको ज्ञान रहेको आफूले महशुस गरेको बताउँदै मधेश प्रदेशको साहित्य संस्कृतिलाई ज्ञानकूपका विद्यार्थीहरूले नयाँ प्रविधि मार्फत जोड्ने प्रयास गरेकोमा खुशी व्यक्त गर्नु भयो ।

बृहत् शैक्षिक मेलामा विद्यार्थीहरूले सृजना गरेका विभिन्न प्रकारका आविष्कारका साथै विभिन्न सृजनाहरूको ४५ भन्दा बढी स्टलहरू रहेको विद्यालयका प्रधानाध्यापक संजय कुमार झाले जानकारी दिनु भएको छ । उहाँले विद्यार्थीहरूले कक्षा कोठामा पढेका विषयहरूलाई व्यवहारमा रूपान्तरण गर्नका लागि बृहत् शैक्षिक मेलाको आयोजना गरेको जानकारी दिनुभयो । 

बृहत् शैक्षिक मेलामा विद्यार्थीहरूले जलवायु परिवर्तनका कारणले परेको नकारात्मक प्रभावलाई कसरी कम गर्न सकिन्छ त्यस विषयमा केन्द्रित रहेर स्मार्ट सिटीको अवधारणा सहित प्रदर्शनी बृहत् शैक्षिक मेलामा प्रदर्शन गरेका थिए । 

विक्रम संवत् १९६६ सालमा स्थापना भएको यस क्षेत्रका निक्कै पुरानो विद्यालयको रुपमा रहेको याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयले संस्कृत शिक्षाका साथै अग्रेजी माध्यमबाट आधुनिक शिक्षा पनि प्रदान गर्ने काम गरिरहेको कारणले यस क्षेत्रका चर्चित विद्यालय बनेका छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button