प्रतिनिधिसभा निर्वाचन: कञ्चनपुरमा १३२ मतदान स्थल, ३६० मतदान केन्द्र
कञ्चनपुर। फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी कञ्चनपुर जिल्लामा तीव्र पारिएको छ ।
निर्वाचनका लागि कञ्चनपुर जिल्लामा जम्मा ३ लाख १४ हजार ३८५ जना मतदाता रहेका छन् । मतदातामध्ये पुरुष १ लाख ५४ हजार ६८, महिला १ लाख ६० हजार ३१६ र अन्य १ जना रहेका छन् । कञ्चनपुर जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि जम्मा ३ वटा निर्वाचन क्षेत्र रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जिल्लाभर १३२ वटा मतदान स्थल तोकिएका छन्, जसअन्तर्गत सामान्य २६, संवेदनशील ४० र अति संवेदनशील ६६ वटा रहेका छन् । त्यस्तै, जिल्लामा जम्मा ३६० वटा मतदान केन्द्र कायम गरिएका छन् । तीमध्ये सामान्य ४९, संवेदनशील ११९ र अति संवेदनशील १९२ वटा मतदान केन्द्र रहेका छन् ।
६६ अति संवेदनशील मतदान स्थल, सुरक्षा तयारी तीव्र
सुरक्षा व्यवस्थाका लागि निर्वाचन प्रहरीको स्वीकृत कोटाअनुसार २ हजार ३५ जना नेपाल प्रहरी र २९२ जना सशस्त्र प्रहरी खटाइने छ । जिल्ला प्रहरी कार्यालयका अनुसार माघ ०१ गतेसम्म निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीतर्फ पुरुष १ हजार ६८७ र महिला १ हजार २१९ गरी जम्मा २ हजार ९०६ जनाको आवेदन दर्ता भएको छ । त्यसै गरी, सशस्त्र प्रहरीतर्फ पुरुष १०१ र महिला ९३ गरी जम्मा १९४ जनाको आवेदन परेको छ । यसरी कुल जम्मा ३ हजार १०० जनाले निर्वाचन सुरक्षाका लागि आवेदन दर्ता गराएका छन् ।
प्रहरी कार्यालयले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन आवश्यक सुरक्षा योजना कार्यान्वयनमा ल्याइने जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्