तपाईँ सुन्दै हुनुहुन्छः

एन्फा राष्ट्रिय लिगमा मङ्गलवार दुवै खेल बराबरीमा सम्पन्न

काठमाडौँ । एन्फा राष्ट्रिय लिगमा मङ्गलवार सम्पन्न दुवै खेल बराबरीमा सकिएको छ ।

दिनको पहिलो खेलमा चित्लाङ एफसीले विभागीय टोली नेपाल पुलिस क्लबसँग १–१ को बराबरी खेल्यो । दोस्रो खेलमा प्लानिङ ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई गोलरहित बराबरीमा रोक्न सफल भयो । दुवै खेल सातदाबोटोस्थित एन्फा मुख्यालय मैदानमा भएको हो ।

म्याथिउ बाबाटुण्डेको गोलमा चित्लाङले ४१औँ मिनेटमा पुलिसविरुद्ध सुरुआती अग्रता लिएको थियो । निर्धारित समय सकिन तीन मिनेट बाँकी छँदा लछुमान रानामगरले आत्मघाती गोल गर्दा चित्लाङले दुई अंक गुमायो । लिगमा पुलिसको यो पहिलो अंक हो । पहिलो खेलमा पुलिसले प्लानिङ ब्वाइज युनाइटेडसँग १–० को हार बेहोरेको थियो । चित्लाङले यसअघि नव जनजागृति क्लबलाई २–१ ले हराएको थियो ।

आफ्नो पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लबमाथि ५–० को फराकिलो जित हासिल गरेको आर्मीले मङ्गलवार पाएको अवसरलाई सदुपयोग गर्न सकेन । लिगमा बुधबार कुनै पनि खेल हुने छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button