तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनको मैदानमा पत्रकार

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दर्जन बढी पत्रकार चुनावी मैदानमा उत्रिएका छन् । यसअघि जस्तै पत्रकारिताको पृष्ठभूमिबाट राजनीतिमा प्रत्यक्ष रूपमा सहभागी हुनेक्रम यस पटकको निर्वाचनमा पनि देखिएको छ । 

प्राप्त जानकारीअनुसार पत्रकार एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–२ मा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ भने चर्चित टेलिभिजन प्रस्तोता ऋषि धमला आमजनता पार्टीबाट रौतहट–४ मा उम्मेदवार बन्नुभएको छ । 

नेपाली काँग्रेसका तर्फबाट भक्तपुर–२ मा पत्रकार कविर राणा र रास्वपाबाट राजीव खत्री, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जुम्ला–१ बाट मनऋषि धिताल, नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हुम्लामा डा.दीपेन्द्र रोकाय र सोही पार्टीको काठमाडौँ क्षेत्र १० बाट रुपा महर्जन, दोलखा निर्वाचन क्षेत्र नं १ बाट अजयबाबु सिवाकोटी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौँ–६ मा उद्धवराज भेटवाल र झापा–२ मा राप्रपाका तर्फबाट स्वागत नेपालले उम्मेदवारी दिनुभएको छ । 

पूर्वपत्रकार नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट सूर्यबहादुर थापा क्षेत्री प्युठानबाट उम्मेदवार बन्नुभएको छ । पत्रकारिता पृष्ठभूमिका रास्वपाका सभापति रवि लामिछाने, सोही पार्टीका दीपक बोहरा, सोविता गौतम र निशा डाँगी पनि उम्मेदवार बन्नुभएको छ । लामिछाने, गौतम र डाँगी यसअघिको निर्वाचनमा प्रतिनिधिसभामा विजयी हुनुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button