तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व प्रधानमन्त्री भट्टराइद्वारा गोरखा–२ बाट उम्मेदवारी दर्ता 

गोरखा । आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा २ मा प्रजातान्त्रिक लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी दिनुभएको छ । 

मङ्गलवार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत कार्यालय पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो । भट्टराईको प्रस्तावकमा नारायण खत्री र समर्थकमा रिजन राना मगर हुनुहुन्छ ।

चुनाव नलड्ने बताउँदै आउनुभएका भट्टराइले आइतबार मात्रै चुनावमा उठ्ने घोषणा गर्नुभएको थियो । उहाँले रेडियो नेपालसँग कुराकानी गर्दै समयको आवश्यकताले आफूले उम्मेदवारी दिएको र आफूलाई आफ्नो निर्वाचन क्षेत्रका जनताले जिताउने बताउनुभयो । 

यसैगरी प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा २ बाट नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीले उम्मेदवारी दिनुभएको छ । दवाडीको प्रस्तावकमा गोविन्द गुरुङ र समर्थकमा किशोरजंग थापा हुनुहुन्छ ।

प्रतिनिधिसभा निर्वाचनमा गोरखा २ बाट मिलन गुरुङ (चक्रे मिलन) ले उम्मेदवारी दिनुभएको छ । गुरुङले नेकपा (एमाले) बाट उम्मेदवारी दिनुभएको हो । उहाँको प्रस्तावकमा प्रेम गुरुङ र समर्थकमा बाबुराम थापा हुनुहुन्छ ।

सोही निर्वाचनका लागि गोरखा २ बाट लेखनाथ न्यौपानेले उम्मेदवारी दर्ता गर्नुभएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवारी दिनुभएका न्यौपानेको प्रस्तावकमा विश्वेश्वर कट्टेल र समर्थकमा भगवती तिवारी हुनुहुन्छ ।

निर्वाचन क्षेत्र नम्बर २ का लागि राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीले उम्मेदवार दर्ता गराउनुभएको छ । उहाँको प्रस्तावकमा हरिश्चन्द्र आचार्य र समर्थक सुक बहादुर तामाङ हुनुहुन्छ ।

गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका आरसी लामिछानेले उम्मेदवारी दिनुभएको छ । लामिछानेको प्रस्तावकमा सुजन सिंखडा र समर्थकमा काजीराम रोका हुनुहुन्छ ।

गोरखा १ मा नेपाली कांग्रेसका प्रेम खत्रीले उम्मेदवारी दिनुभएको छ । उहाँको प्रस्तावकमा नारायण लामिछाने र समर्थकमा लुमनाथ लामिछाने हुनुहुन्छ ।

गोरखा १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का हरिराज अधिकारीले उम्मेदवारी दिनुभएको छ ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुधन गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button